“सहमतिको पालना नभए एउटै मितिमा दुई एक्स्पो लाग्न सक्छ”

  • ब्रह्मदेव यादव, विराटनगर ६०६  पटक हेरिएको

आइतबार, मंसिर १६, २०८१ समय : १९:०४:५४ , ३ दिन अगाडि

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरले उद्योग संगठन मोरङलाई सहमतिको पालना गर्न आइतबार पत्र पठाएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधानसभा सदस्य पवन सारडाले हस्ताक्षर गरेको पत्रमा सहमतिको पालना नभएको खण्डमा एउटै मितिमा विराटगनरमा दुई बेग्लाबेग्लै एक्स्पो लाग्न सक्ने चेतावनी दिएको छ ।

नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई पत्रमा उल्लेख गरिएको बेहोरा बारे जानकारी गराएका छन् । कोशी प्रदेश सरकारले २०८१ माघ ११, १२ र १३ गते विराटनगरमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्ने मिति तोकेको छ ।

उद्योग संगठन मोरङले सोही समयमा अर्थात २०८१ माघ ११ देखि २० गतेसम्म विराटनगरमा विराट एक्स्पोको आयोजना गर्ने मिति तोकेको छ । उद्योग संगठन मोरङले २०८१ पुस ६ देखि १५ गतेसम्म र नेपाल उद्योग परिसंघ कोशीले २०८१ माघ ११ देखि २० गतेसम्म विराटनगरमा बेग्लाबेग्लै एक्स्पोको आयोजना गर्ने सहमति गरेको थियो । तर उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश सँग गरेको सहमति विपरित विराट एक्स्पोको मिति सारेर एक महिनापछि पुर्‍याएकोले नेपाल उद्योग परिसंघ कोशीले आयोजना गर्ने मितिमा एक्स्पो आयोजना गर्ने तय गरिएको मितिप्रति नेपाल उद्योग परिसंघ कोशीले असहमति जनाउँदै खेद व्यक्त गरेको छ ।

परिसंघ कोशीका अध्यक्ष पवन सारडाले सहमतिको पालना नभएको खण्डमा उद्योग संगठन मोरङले तोकेको मिति २०८१ माघ ११ गतेदेखि नै समानान्तर एक्स्पोको आयोजना गर्ने चेतावनी दिएका छन् । या त एउटै मितिमा दुई बेग्लाबेग्लै एक्स्पो लाग्न सक्छ । या त उद्योग संगठन मोरङले आयोजना गर्ने मिति भन्दा अगाडि नै एक्स्पो लाग्न सक्छ ।

नेपाल उद्योग परिसंघ कोशीको पत्रमा उल्लेख गरिएको छ । उद्योग संगठन मोरङले कोशी प्रदेश सरकारको आग्रह बमोजिम विराट एक्स्पोको मिति एक महिना पछि सारेको भनाई अगाडि सारेर सहमतिको पालनाबाट बच्न खोजीरहेको छ । तर नेपाल उद्योग परिसंघ कोशीले सरकारले के भन्छ त्यता नगई दुई संग संगठन बिच भएको सहमति पालना गर्न जोड दिइरहेको छ ।

निजी क्षेत्रको दुई संस्था नेपाल उद्योग परिसंघ कोशी र उद्योग संगठन मोरङ बिचको लडाइको कारण केशी प्रदेश सरकारले २०८१ माघ ११, १२ र १३ गते विराटनगरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन भाड्ने सम्भावना बढेर गएको छ ।