- चिरफार डटकम, विराटनगर १३८ पटक हेरिएको
सोमबार, मंसिर १०, २०८१ समय : १३:३८:२२ , ३ घन्टा अगाडि
यही मंसिर १३ गतेदेखि विराटनगरमा दोस्रो संकरणको अन्तरस्कुल दिल्ली पब्लिक स्कुल (डिपिएस) रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरु हुँदैछ । विराटनगर महानगरपालिका भित्र रहेको १२ स्कुलको प्रतियोगितामा सहभागिता रहेको छ । फुटबल प्रतियोगिताको सबै खेल विराटनगर–५ स्थित डिपिएस स्कुलको खेल मैदानमा सञ्चालन हुनेछ । प्रत्येक खेल ५० मिनेटको हुनेछ ।
मंसिर २१ गते फुटबल प्रतियोगिताको फाइन खेल हुनेछ । डिपिएस स्कुलले सोमबार पत्रकार सम्मेलन गरेर फुटबल प्रतियोगिताको तयारी पुरा भइसकेको जानकारी गराए । डिपिएस स्कुलका प्रिन्सिपल भीमबहादुर लिम्बुले प्रतियोगिताको विजेता टिमलाई सिल्ड र प्रमाण–पत्र प्रदान गर्ने जानकारी गराए ।
डिपिएस स्कुलका फुटबल कोच सुमित डंगोलले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने जानकारी गराए । विराटनगरमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ डिपिएस स्कुलले प्रतियोगिताको आयोजना गर्न लागेको फुटबल कोच डंगोलले बताए ।
विराटनगरमा विराट गोल्डकप बाहेक फुटबलको कुनै प्रतियोगिता हुन नसकिरहेको अवस्थामा स्कुल लेबलबाट नै फुटबल खेलाडी उत्पादन गर्ने डिपिएस स्कुलको लक्ष्य रहेको डंगोलको भनाई छ । प्रतियोगितामा लिलिपुट, डनबसको, डिपिएस, सगरमाथा, विकेभिएम, गोदावरी, कोशी विद्या मन्दिर, अरनिको, सनसाइन, अर्पण, मोडनेरा र सेन्टजोसेफ स्कुलको सहभागिता रहेको छ ।