१० जना लापसे सेवन कर्ता सवारी चालक प्रहरी नियन्त्रणमा

  • चिरफार डटकम, विराटनगर १४९  पटक हेरिएको

आइतबार, मंसिर ०९, २०८१ समय : १६:५५:३३ , ३ घन्टा अगाडि

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लागूपदार्थ सेवन गरेर सवारी साधन कुदाउने १० जना चालकलाई नियन्त्रणमा लिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको नेपाल भारतको सीमान्त क्षेत्रमा सवारी साधन चेकजाँचको क्रममा १० जना लापसे सेवन कर्ता चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले शनिबार सीमान्त क्षेत्रमा १५ वटा सवारी साधनको चेक जाँच गरिएकोमा १० जना चालकले लापसे सेवन गरेको पुष्टि भएको बताए । जसमध्ये ५ जना सिटी सफारीका चालक र ५ जना मोटरसाइकल चालक रहेको प्रहरी निरीक्षक लम्सालले बताए ।

अन्य लागूपदार्थ सेवन गरेर सवारी साधन कुदाएको खण्डमा दफा १६० को उपदफा १४२ बमोजिम १ हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । पछिल्लो समय विराटनगरमा सिटी सफारी चलाउनेको संख्या बढ्दो क्रममा छ । एक त सिटी सफारी चलाउने चालक सँग लाइसेन्स हुँदैन । अर्कोतर्फ लागूपदार्थ सेवन गरेर सार्वजनिक सवारी साधन सिटी सफारी कुदाउँदा सर्वसाधारणको ज्यान जोखिममा पर्ने भएकोले लापसे सेवन कर्ता चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक लम्सालले बताए ।