- ब्रह्मदेव यादव, विराटनगर ३४३ पटक हेरिएको
शुक्रबार, मंसिर ०७, २०८१ समय : १५:५०:२१ , ६ घन्टा अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा शुक्रबार आयोजना गरेको कार्यक्रममा एम.ए.डब्लु हायर पर्चेज प्रा.लि.लाई उत्कृष्ट कर दाताको सम्मान प्रदान गरेका छन् । विराटनगर र काठमाडौंमा कार्यालय रहेको एम.ए.डब्लु हायर पर्चेजले आर्थिक वर्ष २०७९/०८० मा २ करोड ४६ लाख ९३ हजार ६ सय ६६ रुपैयाँ कर तिरेका थिए ।
नेपाल राष्ट्र बैंकले एम.ए.डब्लु हायर पर्चेजलाई वित्तिय हायर पर्चेज कारोबार गर्ने संस्थाको मान्यता दिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले एम.ए.डब्लु हायर पर्चेज प्रा.लि.का महाप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाण–पत्र प्रदान गर्दै सम्मान गरेको हो ।
कार्यालयले केशवबहादुर बस्नेतलाई उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरेको छ । २०८१ मंसिर १ गते शनिबारदेखि सुरु भएको कर सप्ताह मंसिर ७ गते शुक्रबार सकिएको छ । कर सप्ताहको अवसरमा आयोजित अन्तरकलेज हाजिरी जवाफ प्रतियोगितामा विजेता कलेजका विद्यार्थीलाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा विराटनगरको अरनिको कलेज प्रथम, एभरेष्ट कलेज दोस्रो, मेरिल्याण्ड कलेज तेस्रो र शिक्षादिप कलेजका विद्यार्थीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रतियोगितामा सहभागि कलेजका विजेता विद्यार्थीलाई प्रमाण–पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी तिलक प्रसाईं, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहरा, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कार्यसमिति सदस्य देवकिनन्दन अग्रवाल, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा, विराट व्यापार संघका उपमहासचिव श्यामलाल पौडेल (भविष) को सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल चार्टर एकाउन्टेन्ट संस्था विराटनगर शाखाका अध्यक्ष सीए अश्विनी बंशल, सहित उद्योगी, व्यवसायी र कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
आन्तरिक राजश्व कार्यालयले विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यले १३औैं राष्ट्रिय कर दिवस एवं सप्ताहलाई भव्य रुपमा सम्पन्न गर्न कर अधिकृत भवानीप्रसाद दाहाल, प्रदिप कट्टेल र कम्प्यूटर अधिकृत हरि सेढाइलाई विभिन्न कार्यक्रमको जिम्मेवारी तोकेको थियो । जुन जिम्मेवारीलाई कर अधिकृतहरूले सफलता पूर्वक सम्पन्न गरेका छन् ।