हाजिरी जवाफ प्रतियोगितामा अरनिकोलाई प्रथम पुरस्कार 

  • चिरफार डटकम, विराटनगर २२०  पटक हेरिएको

शुक्रबार, मंसिर ०७, २०८१ समय : १५:४६:४२ , ६ घन्टा अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहमा आयोजना गरेको अन्तरकलेज हाजिरी जवाफ प्रतियोगितामा विराटनगरको अरनिको कलेजले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

विराटनगर–१० स्थित अरनिको कलेजको विज्ञान संकाय तर्फ कक्षा १२ मा अध्ययनरत सुजल सापकोटा र कक्षा ११ मा अध्ययनरत निलम घिमिरेको टिमले २ सय अंक प्राप्त गरेर हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए । विराटनगरकै एभरेष्ट कलेजका कोशीका श्रेष्ठ र खिलराज ढकालको टोलीले १ सय ७० अंक प्राप्त गरेर दोस्रो स्थान प्राप्त गरे ।

विराटनगरकै मेरिल्याण्ड कलेजका प्रशान्तकुमार यादव र सुभना गुरागाईंको टोलीले १ सय ३० अंक प्राप्त गरेर तेस्रो स्थान प्राप्त गरे । विराटनगरकै शिक्षादिप कलेजका शेलिस्मा सिवाकोटी र उज्वल ओझाको टोलीले १ सय १० अंक प्राप्त गरेर सान्त्वना पुरस्कार प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमु्ख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यले हाजिरी जवाफ प्रतियोगिताका विजेता विद्यार्थीलाई प्रमाण–पत्र प्रदान गरेका थिए ।

२०८१ मंसिर १ गते शनिबारदेखि सुरु भएको १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको अवसरमा आन्तरिक राजश्व कार्यालय विराटनगरले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो । आन्तरिक राजश्व कार्यालय विराटनगरका कर अधिकृत प्रदिप कट्टेललाई हाजिरी जवाफ प्रतियोगिताको संयोजक तोकेको थियो ।