- ब्रह्मदेव यादव, विराटनगर ४३३ पटक हेरिएको
बुधबार, मंसिर ०५, २०८१ समय : १२:४३:३० , १ दिन अगाडि
विराटनगरका उद्योगीहरूले नेपालको क्रिकेट क्षेत्रमा ठुलो रकम लगानी गरेको छ । समग्र नेपालको क्रिकेट क्षेत्रको विकासका लागि उद्योग सरह नै क्रिकेट क्षेत्रमा ठुलो रकम लगानी गरिएको युवा उद्यमी पारस लुनियाले बताए । नेपाल प्रिमियर लिग (एन.पी.एल.) को टिम विराटनगर किङ्गसमा युवा उद्यमी पारस लुनिया र उनका भतिज जयस लुनियाले मोटो रकम लगानी गरेका छन् । बेग्लाबेग्लै उद्योग संचालन गरिरहेको काका भतिजले नेपाली क्रिकेट उद्योगमा मोटो रकम लगानी गरेको हो ।
उद्योगी प्रकाश मुन्दडा, नारायण मुन्दडा, राजेश बगडिया (अग्रवाल), अनुज पोदार र सुयश प्याकुरेलले विराटनगर किङ्गसमा मोटो रकम लगानी गरेको छन् । नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा नै ५ विदेशी खेलाडी खरिद गरेको विराटनगर किङ्गसले मंगलबार विराटनगरमा भव्य कार्यक्रम आयोजना गरेर आफ्नो टिमको जर्सी सार्वजनिक गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विराटनगर किङ्गसका खेलाडी चर्चित क्रिकेटर सन्दिप लामिछानेले टिमको जर्सी सार्वजनिक गरे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किङ्गसको जर्सी नै लगाएर टिमलाई अग्रिम बधाईको शुभकामना व्यक्त गरे ।
विराटनगर किङ्गसले न्यूजल्याणका विस्फोटक ब्याट्सम्यान मार्टिन गुप्टिल, ओमानका कप्तान अकिव इलियास सहित निकोलस क्रिटोन, क्रिस सोल र इस्मत आलमलाई महंगो रकम खर्चेर खरिद गरेका छन् । नेपाली खेलाडी सन्दिप लामिछाने, प्रतिश जिसी, वसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेश भट्ट र मृणाल गुरुङ टिममा रहेका छन् ।
मंसिर १५ गतेदेखि काठमाडौंको किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल प्रिमियरलिगको खेल हुनेछ । कोशी प्रदेशको विराटनगर किङ्गसले मधेश प्रदेशको जनकपुरसँग पहिलो खेल खेल्नेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता १ महिनासम्म चल्नेछ ।