मोरङको ग्रामथानमा अध्यक्षका लागि प्रमुख राजनैतिक दलको उम्मेदवारी 

  • ब्रह्मदेव यादव, विराटनगर ४०१  पटक हेरिएको

आइतबार, मंसिर ०२, २०८१ समय : १७:२४:५२ , ४ दिन अगाडि

यही मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकामा हुन गइरहेको अध्यक्ष पदका लागि आइतबार प्रमुख राजनैतिक दलहरुले उम्मेदवारी दिएका छन् । ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष जयप्रकाश गच्छदारको असामयिक निधन पछि उपनिर्वाचन हुन गइरहेको छ ।

सरकार र प्रतिपक्षमा रहेका प्रमुख राजनैतिक दलले चुनावी तालमेल भङ्ग गरेर एक्लाएक्लै अध्यक्ष पदका लागि उम्मेदवारी दिए । सत्ता साझेदार राजनैतिक दल नेपाली कांग्रेसबाट बलराम सरदार थारु र नेकपा एमालेबाट तुलसीराम विश्वासले अध्यक्ष पदका लागि उम्मेदवारी दिए ।

नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार थन्दार (दिवेश), नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशी, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी, समावेशी समाजवादी पार्टी नेपालबाट बौधनारायण माझी, राष्ट्रिय उन्मुक्ति पार्टीबाट बुद्धिजन विश्वास थारु, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, जनमत पार्टीबाट विनोदकुमार माझीले अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु मुसहर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नविनकुमार विश्वास थारु, मङ्गोल नेशनल अर्गनाइजेशनबाट भरत राई, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी थारुले उम्मेदवारी दिएका छन् । नमनारायण चौधरी थारुले स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । एमाले उम्मेदवार तुलसीराम विश्वासका विरुद्ध नमनारायण चौधरीले बागी उम्मेदवार दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल, डा. डिला संगौला, भीम पराजुली, नेता गुरुराज घिमिरे र मोरङ अध्यक्ष दिगबहादुर लिम्बु सहितका नेताहरु अध्यक्ष पदका उम्मेदवार बलराम सरदार थारुको उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय ग्रामथान पुगेका थिए ।