- ब्रह्मदेव यादव, विराटनगर ३५६ पटक हेरिएको
शुक्रबार, कार्तिक ३०, २०८१ समय : १३:०१:५४ , ६ दिन अगाडि
नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणालीको आवश्यकता नरहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणालीको आवश्यकता रहेको र यही विषयमा केन्द्रित रहेर सरकारले संविधान संशोधन गर्नुपर्ने आवाज उठाइ रहेको बेला उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले दुई पार्टीका अध्यक्षले उठाइ रहेको मागलाई खारेज गरिदिएको हो ।
नेपाल प्रेस यूनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले नेपालमा कायम रहेको संघिय शासन प्रणालीको विकल्प खोज्नु पर्ने बेला आइनसकेकोले प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणालीबारे बहस चल्न नसक्ने बताए ।
सरकारले आवश्यक संघिय कानुन बनाएर प्रदेशलाई अधिकार प्रत्यायोजन गर्ने गरी काम गरिरहेको उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले बताए । कांग्रेसका केन्द्रिय सदस्य एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुली, कांग्रेस नेता एवं महाधिवेशन प्रतिनिधि फुलकुमार लालवानी र कांग्रेस नेता एवं जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साह पत्रकार सम्मेलनमा सहभागि थिए ।
नेपाल प्रेस यूनियन मोरङका सचिव गोपालप्रसाद पोखरेलको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मोरङ जिल्ला कमिटी सदस्य एवं सूचना तथा सञ्चार विभाग प्रमुख पत्रकार विरेन्द्र साहको उपस्थिति रहेको थियो ।