“थन्दार बालेन जस्तै लोकप्रिय”

  • ब्रह्मदेव यादव, विराटनगर ४३४  पटक हेरिएको

बिहिबार, कार्तिक २९, २०८१ समय : १७:४०:२० , ७ दिन अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीले दिनेशकुमार थन्दार (दिवेश) लाई बालेन सँग तुलना गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह जस्तै दिवेश थन्दार युवामाझ लोकप्रिय रहेको चित्रण गरेका छन् । राजेन्द्र लिङदेन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दिवेश थन्दारलाई मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएका छन् ।

ग्रामथान गाउँपालिकाका अध्यक्षको निधन पछि त्यहाँ मंसिर १६ गते उपनिर्वाचन हुन गइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले बालेन जस्तै लोकप्रिय युवा दिवेश थन्दारलाई अध्यक्ष पदको उम्मेदवार बनाएर जित निकाल्ने गरी चुनावमा होमिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रिय महामन्त्री प्रहलाद साहलाई मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार छनौट गर्न अख्तियारी प्रदान गरेका थिए ।

महामन्त्री साहले ५ जना आकांक्षी मध्ये दिवेश थन्दारलाई अध्यक्ष पदको उम्मेदवार बनाएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय महामन्त्री प्रहलाद साहले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर युवालाई राजनैतिकमा अगाडि बढाउने पार्टीको नीति अनुरूप दिवेश थन्दारलाई ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको बताए । ग्रामथान गाउँपालिकाको ७ वटै वडामा पार्टीको संगठन रहेको छ ।

ग्रामथानमा आफ्नो पार्टीको उम्मेदवारले जित्ने आधार त्यही नै रहेको महामन्त्री साहले बताए । ग्रामथान गाउँपालिका–५ निवासी दिवेश थन्दार लोकप्रिय युवा हुन् । जनताको निम्ति काम गर्ने उद्घोष गरेर राजनैतिकमा होमिएका दिवेश थन्दारको पक्षमा जनलहर उर्लिएको छ । जुन जनलहर देखेर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू उत्साहित बनेका छन् ।