- ब्रह्मदेव यादव, विराटनगर ३०५ पटक हेरिएको
बुधबार, कार्तिक २८, २०८१ समय : १२:५३:०६ , २ हप्ता अगाडि
नेपाली कांग्रेस र नेकपा एमालेले मंसिर १४ गते शुक्रबार विराटनगरमा सामूहिक छलफल कार्यक्रम आयोजना गर्न लागेका छन् । केन्द्रदेखि प्रदेशसम्म सरकार सञ्चालन गरिरहेको कांग्रेस–एमालेले कोशी प्रदेशमा जारी विकास निर्माणको काम बारे कार्यकर्ताहरुसँग विराटनगरमा सामूहिक छलफल कार्यक्रम आयोजना गर्न लागेको हो ।
कोशी प्रदेशमा सरकार सञ्चालन गरिरहेको कांग्रेस एमालेको दुई दलीय राजनैतिक संयन्त्रले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर विकास निर्माणको कार्यबारे जनताको भावना बुझ्न सामूहिक छलफल कार्यक्रम आयोजना गर्न लागेको बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई, उद्धव थापा सहित मन्त्रीहरू पत्रकार सम्मेलनमा सहभागि थिए । कांग्रेस एमालेले कोशी प्रदेशमा सरकार सञ्चालन गर्न ६ सदस्यीय दलीय संयन्त्र गठन गरेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्री भुपेन्द्र राई र उमेश थापा सदस्य रहेका छन् । कांग्रेसबाट दलिय संयन्त्रमा सदस्य रहेका महामन्त्री भूपेन्द्र राई कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्री रहेका छन् ।नेकपा एमालेका तर्फबाट कोशी प्रदेश इन्चार्ज शेरधन राई, नेकपा एमाले कोशी प्रदेश संसदिय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्की र कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा दलीय संयन्त्र समितिमा सदस्य रहेका छन् ।