“लगानी सम्मेलनबारे उद्योगीसँग छलफल” 

  • ब्रह्मदेव यादव, विराटनगर ४९०  पटक हेरिएको

सोमबार, कार्तिक ०५, २०८१ समय : १४:०६:०५ , १ महिना अगाडि

कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन बारे सोमबार विराटनगरमा उद्योगी सँग छलफल गरेका छन् । कोशी प्रदेश सरकारले ३ करोड ३३ लाख रुपैयाँ खर्चेर २०८१ साल माघ ११, १२ र १३ गते विराटनगरमा लगानी सम्मेलनको आयोजना गर्दैछ । कोशी प्रदेश सरकारले विराटनगरमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई मन्त्री परिषदको बैठकले अनुमोदन गरिसकेका छन् ।

कोशी प्रदेश सरकारले विराटनगरमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरिसकेका छन् । तर ठाउँको टुंगो लागिसकेको छैन । लगानी सम्मेलनका क्षेत्रहरू पहिचान गर्नका लागि कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सोमबार विराटनगरमा सरोकारवाला सँग छलफल गरेका छन् । उद्योग, कृषि र सहकारी उद्योग सञ्चालन गरिरहेका उद्योगीहरू छलफल कार्यक्रममा सहभागि थिए ।

कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री खगेन सिंह हाङगाम, सचिव डा. लेखराज दाहाल, कोशी प्रदेश सरकार लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले उद्योगीबाट आएको सुझावलाई लगानी सम्मेलनमा एजेन्डा बनाउने धारणा व्यक्त गरे ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले प्रदेशमा उद्योग सञ्चालन गरिरहेका उद्योगीलाई आवश्यक परेको लगानी जुटाउन लगानी सम्मेलनको आयोजना गर्न लागेको बताए । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, उपाध्यक्ष अनिल सारडा,  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहरा, उद्योगी श्रवण अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण (श्याम भण्डारी) छलफल कार्यक्रममा सहभागि थिए ।

कोशी प्रदेश सरकारले धान, तरकारी, मकै, अलैँची, चिया, आलु सहित १० प्रकारको उत्पादनलाई प्राथमिकतामा राखेर लगानी सम्मेलनको आयोजना गर्न लागेको छ ।