विराटनगरमा डब्बल पार्किङ निषेध 

  • ब्रह्मदेव यादव, विराटनगर ३६९  पटक हेरिएको

आइतबार, कार्तिक ०४, २०८१ समय : १५:२३:१३ , १ महिना अगाडि

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर बजार क्षेत्रको सडकमा हुने गरेको डब्बल पार्किङमा प्रतिबन्ध लगाएको छ । विराटनगरको मेनरोड स्थित बजार क्षेत्रको दुवै तर्फको सडकमा मोटरसाइकल, स्कुटी सहित ठूला सवारी साधन पार्किङ गर्नेको जमातको संख्या ठुलो छ ।

नेपालीहरूको महान चार्ड शुभ–दीपावली र छठ पर्वको अवसरमा किनमेल गर्न आउनेको जमात बाक्लो हुने गरेको छ । सडकको दुवै तर्फ सवारी साधन पार्किङ गरिदिदा बजार क्षेत्रमा अस्तव्यस्त सँगै जाम हुने भएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले डब्बल पार्किङमा प्रतिबन्ध लगाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख, प्रहरी निरीक्षक राजन लम्सालले चार्ड पर्वको बेला बजार क्षेत्र व्यस्त रहने भएकोले सडकमा हुने गरेको डब्बल पार्किङमा प्रतिबन्ध लगाइएको बताए । अटेर गरेर बजार क्षेत्रमा सवारी साधनलाई सडकको दुवै तर्फ पार्किङ गरेको खण्डमा जरिवाना हुने व्यवस्था गरिएको ट्राफिक प्रमुख लम्सालले बताए ।

यस बाहेक सिटी सफारीका चालकलाई सवारी ऐनको बारेमा जानकारी नभएकोले उनीहरु बजार क्षेत्रमा रोकिराखेको सफारी नजिक सडकमै सिटी सफारी रोकिदिदाँ बजार क्षेत्र अस्तव्यस्त र भिडभाड बढ्ने गरेका छन् ।

जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी प्रमुख लम्सालले सिटी सफारीका चालकलाई कार्यालयमै बोलाएर सवारी ऐन सम्बन्धी प्रशिक्षण दिई रहेका छन् । यस सँगै बजार क्षेत्रमा ठेलामा फलफूल बेच्ने व्यवसायीलाई सडक पेटिमा पार्किङ नगर्न अभियान नै चलाएका छन् ।