पशुपति गौशाला धर्मशालाबारे प्रधानमन्त्री ओलीलाई ५० संघसंस्थाको ज्ञापनपत्र

  • ब्रह्मदेव यादव, विराटनगर १०५२  पटक हेरिएको

बिहिबार, कार्तिक ०१, २०८१ समय : १६:२५:२७ , १ महिना अगाडि

प्रमुख राजनैतिक दलसहित विराटनगरका ५० वटा संघसंस्थाहरुले काठमाडौंको श्री पशुपति गौशाला धर्मशालाबारे बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कोशी प्रदेश सांसद भीम पराजुलीको नेतृत्वमा बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

८४ वर्षदेखि काठमाडौँको गौशाला स्थित पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिले संचालन गरिरहेको अवस्थामा पशुपति विकास क्षेत्र कोष र काठमाडौँ महानगरपालिकाले असोज २३ गते धर्मशाला खाली गराउन गरेको आक्रमणको प्रमुख राजनैतिक दल सहित ५० वटै संघसंस्थाहरुले खेद व्यक्त गरेका छन् ।

कांग्रेस केन्द्रिय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल र भीम पराजुली, कांग्रेस विराटनगर महानगर समिति सभापति दिपक चापागाईं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मोरङका अध्यक्ष मो. कादिर, राजनैतिक उमेश यादव, सागर थापा, ​​​​​​​कांग्रेस युवा नेता कृष्ण कार्की सहित ५० वटा संघसंस्थाका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

काठमाडौं जिल्ला अदालतको निर्णय पूर्वाग्रही रहेकोले पुनरावेदन अदालतको निर्णय नआउन्जेलसम्म पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिलाई नै सञ्चालन गर्न दिनुपर्ने प्रमुख राजनैतिक दलसहित सामाजिक, धार्मिक र उद्योगी क्षेत्रको संघसंस्थाहरुले माग गरेका छन् ।

श्री हरिसत्संग समिति नेपालका अध्यक्ष भिखमचन्द सरल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रिय उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य गोपाल अग्रवाल, माहेश्‍वरी समाज विराटनगरका अध्यक्ष उद्योगी एवं समाजसेवी घनश्याम काबरा, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, लक्ष्मी नारायण मन्दिर विराटनगरका तर्फबाट स्वामी रामानुज नेपाल, विश्व हिन्दु परिषद् नेपाल कोशी प्रदेशको तर्फबाट महेन्द्र साह, अतिथि सदन विराटनगरका अध्यक्ष सुधिर तोदी, जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष शतिस दुगड, बासुकिनाथ धाम विराटनगरका अध्यक्ष तुलसी गोयल, बरिष्ठ अधिवक्ता भरतबहादुर थापा, पुनम गुप्ता, पशुपति नेपाल सहित ५० संघसंस्थाका पदाधिकारीहरूले ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए ।