- ब्रह्ममदेव यादव, विराटनगर १७९९ पटक हेरिएको
मंगलबार, आश्विन २९, २०८१ समय : २१:०२:१७ , १ महिना अगाडि
विराटनगरका राजनैतिक, सामाजिक, धार्मिक र उद्योगी क्षेत्रका पदाधिकारीहरूले संविधान र कानुन विपरित काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषले पशुपति गौशाला धर्मशालामाथि आक्रमण गरेको निष्कर्ष निकालेका छन् । साथै पशुपति गौशाला धर्मशालामाथिको आक्रमणलाई मारवाडी समुदाय र सनातन हिन्दु धर्ममाथिको आक्रमणको सङ्ज्ञा दिएका छन् ।
मारवाडी सेवा समिति विराटनगरले मङ्गलबार विराटनगरमा पशुपति गोशाला धर्मशालाको सम्बन्धमा विभिन्न धार्मिक, सामाजिक, परोपकारी संघसंस्थाका पदाधिकारी सँग आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवाला निकायले काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषका विरुद्ध सडक संघर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौंमा पुगेर ज्ञापन पत्र बुझाएर घटनाबारे जानकारी गराउने निष्कर्ष निकालेका छन् ।
मारवाडी सेवा समिति नेपालको केन्द्रिय कार्यसमितिले ८४ वर्षदेखि काठमाडौंको गौशालामा रहेको पशुपति गौशाला धर्मशाला सञ्चालन गरिरहेका छन् । १९९७ सालमा तत्कालीन प्रधानमन्त्री श्री तीन जुद्धशमशेर राणाले धार्मिक र सामाजिक कार्य गर्नका लागि मारवाडी समुदायलाई पशुपति विकास कोष अन्तर्गतको गौशालाको ९ रोपनी जग्गा दान गरेका थिए । ति जग्गा पछि मारवाडी सेवा समिति नेपालको स्वामित्वमा आएको थियो ।
मारवाडी सेवा समिति नेपालले काठमाडौंको गौशाला स्थित जग्गामा पशुपति गौशाला धर्मशाला सञ्चालन गरेर सामाजिक कार्य गरिरहेका छन् । गौशालामा ३ सय भन्दा बढि गाई पालन र बिरामीलाई निःशुल्क उपचार सेवा तथा गेष्ठ हाउस सञ्चालन गरिरहेका छन् । पशुपति विकास कोष र मारवाडी सेवा समिति नेपाल बिच भएको दुई पक्ष सम्झौता अनुसार मारवाडी सेवा समिति नेपालले पशुपति विकास कोषलाई प्रत्येक वर्ष ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराई रहेका छन् ।
जुन ९ रोपनी जग्गामा मारवाडी सेवा समिति नेपालको मोही कायम छ । २०८० सालमा पशुपति विकास कोषले मारवाडी सेवा समिति नेपालसँग सम्झौता तोडेको थियो । कोषले समिति सँग तोडेको सम्झौतालाई काठमाडौँ जिल्ला अदालतले सदर गरेका छन् । काठमाडौँ जिल्ला अदालतको फैसला लगत्तै विजया दशमीको सार्वजनिक बिदाको बेला पशुपति विकास कोषले रातारात काठमाडौँ महानगरपालिका सँग पशुपति गौशाला धर्मशाला सञ्चालन गर्न दिने सम्झौता गरेका छन् ।
काठमाडौँ महानगरपालिकाले असोज २३ गते मारवाडी सेवा समिति नेपालले सञ्चालन गरिरहेको पशुपति गौशाला धर्मशाला माथि आक्रमण गरेका छन् । सोही विषयलाई लिएर मारवाडी सेवा समिति आन्दोलित छ । र आन्दोलनमा राजनैतिक, सामाजिक, धार्मिक र उद्योगी क्षेत्रको समर्थन बढ्दो छ ।
मारवाडी सेवा समिति विराटनगरले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कोशी प्रदेश सांसद भीम पराजुली, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मी, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, विराटनगर स्थित पाञ्चाली मन्दिरका पिठाधीश स्वामी अच्युत प्रपन्नाचार्य, स्वामी रामानुज नेपाल, श्री हरि सत्सङ समिति नेपालका अध्यक्ष भिखमचन्द सरल, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठनका केन्द्रिय उपाध्यक्ष गोपाल अग्रवाल, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष सुरेशकुमार शर्मा, ताराचन्द खेतान, शंकरलाल अग्रवाल, नन्दकिशोर राठी, वरिष्ठ अधिवक्त भरतबहादुर थापा, पुनम गुप्ता र पशुपति नेपालले काठमाडौँ जिल्ला अदालतको फैशलाका विरुद्ध उच्च अदालत जाने संवधानिक अधिकार विपरित पशुपति विकास कोष र काठमाडौँ महानगरपालिकाले पशुपति गौशाला धर्मशाला माथि गरेको आक्रमण संविधान र कानुन विपरित रहेको धारण व्यक्त गरेका थिए ।