सिएनआई कोशी एक्स्पोको सत्तरी प्रतिशत काम सकियो

नदि माथिको फुलबारी बगैंचा एक्स्पोको आकर्षण

  • ... ६०८  पटक हेरिएको

आइतबार, माघ १५, २०७९ समय : १७:२८:०२ , २ वर्ष अगाडि

  • ब्रह्मदेव यादव, विराटनगर

नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले आयोजना गर्न सिएनआई कोशी एक्स्पो २०२३ को ७० प्रतिशत काम सकिएको छ । परिसंघले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुरको खाली मैदानमा माघ १९ देखि २८ गतेसम्म कोशी एक्स्पोको आयोजना गर्दै छ । परिसंघका अध्यक्ष भीम घिमिरेले अन्तर्राष्ट्रिय स्तरको औधोगिक तथा कृषि प्रर्दशनी आयोजना गर्नकोलागि ७० प्रतिशतभन्दा बढि स्टल निर्माणको काम सकिएको बताए ।


एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न ४ करोड भन्दा बढि रकम खर्च हुने भएकोले स्टल निर्माणको तयारी अन्तिम चरणमा पुगेको घिमिरेको भनाई छ ।
१० दिने एक्स्पोको अवधिभर ३५१ स्टलबाट १५ देखि २० करोड रुपैयाँ बराबरको औधोगिक तथा कृषि सामग्री विक्री हुने घिमिरेले बताए ।

परिसंघका कार्यसमिति सदस्य तथा कोशी एक्स्पो २०२३ का संयोजक राजेन्द्र राठीले एक्स्पोमा ४ ओटा हेङ्गर (डोम) भित्र ३०४, अटोमोबाइल्सका ३० र खानाका १७ गरी ३५१ स्टलको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । एउटा हेङ्गर भित्र ७६ अर्थात ४ वटा हेङ्गर भित्र ३०४ वटा स्टल निर्माण गरिएको छ । माघ १९ गते दिउँसो कोशी एक्स्पोको भव्य उद्घाटको कार्यक्रम रहेकोले १८ गते साझँसम्म निर्माण गरिएको सम्पूर्ण स्टल औधोगिक तथा कृषि उद्योगलाई हस्तान्तरण गर्ने गरी निर्माण कार्य जारी रहेको राठीले बताए ।

एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका औधोगिक तथा कृषि उत्पादनका सामग्री विक्री हुने भएकोले ५ लाख भन्दा बढि सर्वसाधारणले एक्स्पोको अवलोकन गर्ने राठीले बताए । माघ १९ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहका बिच एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । एक्स्पोको उद्घाटन अघि विराटनगरमा विशाल जाजिय सांस्कृतिक झाँकी निकालिने छ । जातिय सांस्कृतिक झाँकीमा प्रथम, दोस्रो र तेस्रो हुने जाजिय सांस्कृतिक झाँकीलाई बढिमा १० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने तयारी भईरहेको अध्यक्ष घिमिरेले बताए ।

परिसंघका कार्यसमिति सदस्य तथा सिएनआई कोशी एक्स्पो २०२३ का सह–संयोजक गिरीजा सारडाले कृषि, लघु तथा साना उद्योगका उत्पादनलाई एक्स्पोले प्राथमिकतामा राखेर स्टल उपलब्ध गराएको बताए । नेपाल उद्योग परिसंघ विराटनगरले सिएनआई कोशी एक्स्पोलाई भव्य बनाउन नदि माथि निर्माण गर्न लागेको फुलबारी बगैंचालाई सेल्फी जोनको रुपमा प्रयोग गर्ने भएको छ । एक्स्पो घुम्न आउने सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सेल्फी जोनकोलागि निर्माण गरिरहेको नदि माथिको फुलबारी बगैंचाकालागि आयोजकले १५ लाखभन्दा बढि रुपैयाँ खर्च गर्न लागेको हो ।

एक्स्पो स्थलमा नै जमिनलाई निकै गहिराईसम्म खनेर नदि निर्माण गर्ने काम भईरहेको छ । निर्माण गरिएको नदिमाथि विभिन्न प्राविधिको प्रयोग गरेर फुलबारी बगैंचा राख्ने र एक्स्पो घुम्न आउनेले बगैंचामा फोटो खिच्न पाउने व्यवस्था मिलाइएको छ । केअंसारी ग्रुपद्वारा संचालित हिमालय नर्सरी भित्र रहेका सयौं जातका फुलहरु एक्स्पोको सेल्फी जोनमा राखिने छ । परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, देवेन्द्र गुप्ता, शुसिल जोशी, कार्यसमिति सदस्य ऋषभ दाहाल, पवन पंकज पारखले एक्स्पोलाई भव्य बनाउन जोडतोडका साथ लागिपरेका छन् ।