- ब्रह्मदेव यादव, विराटनगर ६६२ पटक हेरिएको
मंगलबार, आश्विन ०८, २०८१ समय : १६:२५:०५ , २ महिना अगाडि
मोरङ जिल्लाको बेलबारी नगरपालिका–४, निवासी आइतरानी राईको १ करोड ५० लाख भन्दा बढि मूल्य बराबरको जग्गा बैंकमा धरौटी राखेर विराटनगरका संजयकुमार कर्ण फरार भएका छन् । आइतरानी राईले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आफूले १३ लाख रुपैयाँ लिएर बेलबारी–४ को ३ कठ्ठा ७ धुर दृष्टिबन्धक राखेको जग्गालाई संजयकुमार कर्णले बैंकबाट ६५ लाख रुपैयाँमा निकालेर फरार भएको बताए । राईले आफ्नो जग्गा फिर्ता पाउनुपर्ने माग गरेका छन् ।
छोरालाई विदेश पठाउन केही रकम आवश्यक परेको बेला आइतरानी राईले प्रतिकठ्ठा ४० लाख रुपैयाँ मूल्य रहेको बेलबारी नगरपालिका–४ को ३ कठ्ठा ७ धुर जग्गा १३ लाख रुपैयाँ लिएर संजयकुमार कर्णको नाममा दृष्टिबन्धक राखेका थिए । आइतरानी राईले सुरुमा रकम चाहियो भनेर बेलबारी–४ का धनबहादुर लिम्बु, धरान भानु चौकका सुनिल श्रेष्ठ र सुन्दरहरैंचा–२ का सुजन खत्री सँग सम्पर्क गरेका थिए ।
यी तिनै जनाले संजयकुमार कर्णसँग भेटघाट गराउँदै कर्णकै नाममा जग्गा दृष्टिबन्धक राखेका थिए । सुरुमा आइतरानी राईले १७ लाख रुपैयाँ माग गरेका थिए । संजयकुमार कर्णले १३ लाख नगद र १ लाख ५० हजार रुपैयाँको चेक दिएका थिए । तर बैंकमा रकम नरहेकोले चेक साटिएन ।
जुन चेकलाई बाउन्स गराइएको छ । संजयकुमार कर्ण सहित धनबहादुर लिम्बु, सुनिल श्रेष्ठ र सुजन खत्री फरार सूचीमा रहेका छन् । साविक धनुषा जिल्ला घरभइ सप्तरी जिल्लाको राजविराज नगरपालिकामा बसोवास गर्दै आइरहेका रविन्द्रकुमार लालको छोरा ३९ वर्षीय संजयकुमार कर्ण विराटनगर–१२ मा बस्दै आइरहेका छन् । यतिखेर उनी फरार सूचीमा रहेका छन् ।