प्रतिगामी संविधानका विरुद्ध विराटनगरमा लोसपा नेपालको शक्ति प्रदर्शन 

  • ब्रह्मदेव यादव, विराटनगर ५३५  पटक हेरिएको

बिहिबार, आश्विन ०३, २०८१ समय : १७:५६:०९ , २ महिना अगाडि

महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले संविधानको विरुद्ध बिहीबार विराटनगरमा शक्ति प्रदर्शन गरेका छन् । नेपालको संविधान २०७२ लाई प्रतिगामी संविधान भन्दै लोसपा नेपालले शक्ति प्रदर्शन सहित विरोध सभा गरेको हो । लोसपा नेपाल संघिय र मधेश प्रदेश सरकारमा सहभागि छ ।

लोसपा नेपालको तर्फबाट शरदसिंह भण्डारी संघिय सरकारमा श्रम मन्त्री र रानी शर्मा मधेश प्रदेश सरकारमा शिक्षा मन्त्री रहेका छन् । संघिय र मधेश प्रदेश सरकारमा लोसपा नेपाल सहभागिता जनाएर पनि नेपालको संविधान २०७२ को विरोध गरेका छन् । लोसपा नेपाल मोरङका अध्यक्ष एवं केन्द्रिय सचिव मो. कादिरले आदिवासी, जनजाती, मधेशी दलित, पिछडा वर्ग, सीमाङ्कृत वर्गको अधिकार संविधानमा ग्यारेन्टी नभएकोले संविधानको विरोध गरेको बताए ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा व्याख्या गर्दै शक्ति प्रदर्शन सहित विरोध सभा गरेको कादिरले बताए । बिहीबार विराटनगरको रामजानकी मन्दिरबाट लोसपा नेपालले विरोध र्‍याली निकालेका थिए । नगर क्षेत्रमा शक्ति प्रदर्शन गर्दै लोसपा नेपालले विराटनगरको बुधहाट चौकमा विरोध सभा सम्पन्न गरेका थिए ।

लोसपा नेपाल मोरङका अध्यक्ष एवं केन्द्रिय सचिव मो. कादिर, केन्द्रिय सदस्य तरवेज हक र मजेबुल रहमान सहित सयौँ नेता तथा कार्यकर्ताहरू विरोध सभामा सहभागि थिए । सरकार बाहिर रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बिहीबार विज्ञप्ति जारी गरेर प्रतिगामी संविधानको विरोध गरेको छ ।

पार्टीको कोशी प्रदेश अध्यक्ष दीपक याख्याले बिहीबार विज्ञप्ति जारी गरेर विभेदकारी संविधान पुर्नलेखन हुने गरी संविधान संशोधनको आवश्यकता रहेकोमा जोड दिएका छन् । सुशिल कोइराला प्रधानमन्त्री भएको बेला २०७२ सालमा नेपालको संविधान जारी भएको थियो । जुन संविधान जारी भएको दिन असोज ३ गतेलाई मधेश मूलधारका पार्टीले कालो दिनको रुपमा मनाउँदै आइरहेका छन् । देशका मुख्य ३ ठूला राजनैतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधानको स्वागत गरेका छन् ।