- चिरफार डटकम, विराटनगर ५४८ पटक हेरिएको
बुधबार, आश्विन ०२, २०८१ समय : १३:३३:३० , २ महिना अगाडि
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ असोज १ गतेदेखि मुनालपथमा सरेको छ । विराटनगर महानगरपालिकाको वडा नं. ९ स्थित ट्राफिक चौकको जीर्ण भवनबाट विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित विराट नर्सिङ होमको उत्तर तर्फ भाडाको भवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सरेको हो । धरान विराटनगर सडक खण्डको मुनालपथको कार्यालयबाट सेवाग्राहीलाई सेवा प्रदानको व्यवस्था मिलाइएको कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले बताए ।
नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौंले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यालय प्रयोजनको लागि भवन ५ वर्षको लागि भाडामा लिएका छन् । कार्यालयले ३ तल्ले भवनको प्रत्येक महिना ८० हजार रुपैयाँ भाडा तिर्नुपर्ने सम्झैता गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले ५ वर्षको लागि भवन भाडामा लिएपनि १ वर्षभित्र ट्राफिक चौकमा नयाँ भवन बनाएर कार्यालय सार्ने बताए ।
विराटनगरको ट्राफिक चौकमा लामो समयदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय सञ्चालनमा रहेका थिए । यस अघि तत्कालीन नगर प्रहरी कार्यालय सोही भवनबाट सञ्चालन भइरहेका थिए । भूकम्पपछि पुरानो भवन जीर्ण अवस्थामा रहेको थिए । भूकम्पपछि जीर्ण भवनलाई मर्मत सम्भार गरेर जिल्ला ट्राफिक कार्यालय मोरङको कार्यालय सञ्चालन भइरहेको थियो । तर जीर्ण भवन जुनसुकै बेला ढल्न सक्ने अवस्थामा पुगेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ मुनालपथको भाडाको भवनमा सरेको हो ।