सुनसरी–मोरङ सिचाईं आयोजनाले गरेको कामप्रति प्रश्न उठ्यो 

  • ब्रह्मदेव यादव, विराटनगर ४९१  पटक हेरिएको

मंगलबार, आश्विन ०१, २०८१ समय : १२:५१:५२ , २ महिना अगाडि

विराटनगरस्थित सुनसरी–मोरङ सिचाईं आयोजनाले गरेको विकास निर्माणको कामप्रति प्रश्न उठेको छ । आयोजनाले गुणस्तरहीन काम गरेकोले प्रश्न उठेको हो । आयोजनाले आर्थिक वर्ष २०८०/०८१ मा सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिकास्थित चतरा नहरमा निर्माण गरेको न्यू इनटेक र वर्ल्ड इनटेकको कामप्रति प्रश्न उठेको हो । आयोजनाले आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट चतरामा न्यू इनटेक र वर्ल्ड इनटेकको निर्माण कार्य गर्दा २० करोड भन्दा बढि रकम खर्च गरेका थिए ।

आयोजनाले आर्थिक वर्ष २०८०/०८१ मा पूँजीगत तर्फ ६७ करोड रुपैयाँ बजेटबाट ६६ करोड रुपैयाँ विकास निर्माणमा खर्च गरेका छन् । जसमध्ये २० करोड भन्दा बढि रकम सुनसरी–मोरङ सिचाईं आयोजनाको चतरा नहरमा न्यू इनटेक र वर्ल्ड इनटेक निर्माणमा खर्च गरेका हुन् । सुनसरी–मोरङ सिचाईं आयोजनाका पूर्व आयोजना निर्देशक कैलाश श्रेष्ठ र डिभिजन इन्जिनियर राजेशभक्त पोखरेलले न्यू इनटेक र वर्ल्ड इनटेकको काम गर्दा मोटो रकम अनियमितता गरेको स्वयम् सरोकारवाला निकायले आरोप लगाएका छन् ।

आयोजनामा ४ वर्षभन्दा बढि समयदेखि सिविल डिभिजन इन्जिनियरको रुपमा कार्यरत पोखरेलले चतरा नहर मर्मत सम्भारको नाममा प्रत्येक वर्ष २० करोड भन्दा बढि रकम खर्च गरिरहेका छन् । डिभिजन इन्जिनियर पोखरेलले ४ वर्षको कार्यकालमा १ सय करोड भन्दा बढि रकम चतरा नहरको विकास निर्माणमा खर्च गरेका छन् ।

पोखरेलले खर्च गरेको रकम बारे प्रश्न उठेको हो । आयोजना निकट समाचार सूत्रका अनुसार डिभिजन इन्जिनियर पोखरेल कागजातमा विकास निर्माणको काम देखाउन माहिर छन् । पोखरेलले आफ्नो साइड सुनसरीको चतरामा गरेको विकास निर्माणको काम साइडमा भन्दा खर्च गरेको रकमको कागजात बाक्लो छ । यस विषयमा छानविन हुनु पर्ने आवाज उठेको छ ।