पूर्व मुख्यमन्त्री कार्कीले सुरु गर्‍यो आमरण अनशन

  • ब्रह्मदेव यादव, विराटनगर ६८९  पटक हेरिएको

मंगलबार, भाद्र २५, २०८१ समय : १९:०१:०२ , २ महिना अगाडि

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबारदेखि विराटनगरमा आमरण अनशन सुरु गरेका छन् । विराटनगरको देवकोटा चौक स्थित कोशी प्रदेश सभा अगाडि सडक पेटीमा पूर्व मुख्यमन्त्री कार्कीले आमरण अनशन सुरु गरेका छन् । पूर्व मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार सेवा सहित ल्याएको ९ बुदे लोकप्रिय कार्यक्रमलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले हटाई दिएपछि त्यसका विरुद्ध पूर्व मुख्यमन्त्री कार्कीले आमरण अनशन थालेका छन् ।

माग सम्बोधन नभएसम्म मुख्यमन्त्री हिक्मत कार्कीका विरुद्ध आमरण अनशन जारी राख्ने पूर्व मुख्यमन्त्री कार्कीले बताए । नेपाली कांग्रेसका कोशी प्रदेश सांसद केदार कार्कीले आफू सांसदको हैसियतले आमरण अनशनमा बसेको बताए । नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइराला र नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाँईले पूर्व मुख्यमन्त्री कार्कीको आमरण अनशनलाई स्वागत र समर्थन गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ७ का वडाध्यक्ष मधुबाबु तिवारी, ९ नं. वडाध्यक्ष विश्वनाथ भगत (लालु) आमरण अनशन स्थलमै पुगेर पूर्व मुख्यमन्त्री कार्कीको आमरण अनशनलाई स्वागत र समर्थन गरेका छन् ।

नेपाली कांग्रेसका विभिन्न तह र तप्कामा रहेका नेता र कार्यकर्ताहरूले पूर्व मुख्यमन्त्री कार्कीको आमरण अनशनलाई स्वागत र समर्थन गरेका छन् । आमरण अनशनको पहिलो दिन मंगलबार बाक्लो संख्यामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू अमरण अनशनमा सहभागि भएका थिए । पूर्व मुख्यमन्त्री कार्कीले मंगलबार ४ बजेदेखि कोशी प्रदेश सभा अगाडि आमरण अनशन बस्ने तयारी सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आमरण अनशन स्थललाई लक्षित गरेर निषेधाज्ञा जारी गरेका छन् । प्रशासनले निषेधाज्ञा लागू गरेपनि पूर्व मुख्यमन्त्री कार्कीले आमरण अनशन जारी राखेका छन् ।