सुनसरी-मोरङ सिचाईं आयोजनामा सरुवा विवाद

  • ब्रह्मदेव यादव, विराटनगर १०४८  पटक हेरिएको

बिहिबार, भाद्र २०, २०८१ समय : १३:०८:०० , ३ महिना अगाडि

विराटनगर स्थित सुनसरी–मोरङ सिचाईं आयोजनामा भएको सरुवा विवादित बनेको छ । सरुवा प्रति व्यापक असन्तुष्टि बढेको छ । आयोजनामा ४ वर्ष भन्दा बढि समयदेखि कार्यरत सिभिल तर्फका इन्जिनियर राजेश पोखरेलको सरुवा भएको छैन । तर ६ महिना अघि मात्रै सरुवा भएर आएका सिभिल तर्फकै डिभिजन इन्जिनियर अमरेन्द्रकुमार देवको सिचाईं विभागमा सरुवा गरिएको छ ।

आयोजनामा कार्यरत एग्रिकल्चर तर्फका डिभिजन इन्जिनियर कुमार घिमिरेको पनि सिचाईं विभागमा सरुवा भएको छ । सुनसरी–मोरङ सिचाईं आयोजना विराटनगरमा आयोजना प्रमुख र ३ डिभिजन इन्जिनियरको दरबन्दी छ । तर ४ वर्षभन्दा बढि समयदेखि योजनामा हालीमुहाली गरेर बसेका डिभिजन इन्जिनियर पोखरेलको सरुवा नहुनु तर ६ महिना अघि मात्रै सरुवा भएर आएका डिभिजन इन्जिनियर देवको सरुवा भएपछि सरुवा माथि आर्थिक चलखेलको आरोप लाग्दै प्रश्न उठेका छन् ।

मनोहर साहको आयोजना प्रमुखको रुपमा पदस्थापन भएको छ । कैलाश श्रेष्ठको सरुवा भएपछि साहले आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका छन् । करिब १० वर्ष अगाडि आयोजना प्रमुख साह डिभिजन इन्जिनियरको रुपमा सुनसरी–मोरङ सिचाईं आयोजनामा कार्यरत रहेका थिए । आयोजनाले आर्थिक वर्ष २०८०/०८१ मा पूँजीगत तर्फ ६६ करोड रुपैयाँ खर्च गरेका छन् । उधारोमा काम गरेको करोडौँ रकम भुक्तानी गर्न बाँकी छ ।