नेपाल–भारतका उद्योगी बिच भगिनी सम्बन्ध स्थापित 

  • ब्रह्मदेव यादव, विराटनगर ९३१२  पटक हेरिएको

बुधबार, भाद्र ०५, २०८१ समय : १६:३०:१५ , ३ महिना अगाडि

नेपाल र भारतका उद्योगी बिच भगिनी सम्बन्ध स्थापित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समिति र भारतको बिहार राज्यको राजधानी पटनाको बिहार इण्डष्ट्रिज एशोसिएसन बिच भगिनी सम्बन्ध स्थापित भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउत र बिहार इण्डष्ट्रिज एशोसिएसनका अध्यक्ष के.पि.एस. केसरी बिच २०८१ साल भाद्र ४ गते भारतको पटनामा भएको भेटघाट तथा वृहत छलफल पछि दुवै देशका उद्योगी संस्था बिच भगिनी सम्बन्ध कायम भएको हो ।

निजी क्षेत्रको सबै भन्दा ठुलो संजाल भएको नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समिति, कोशी प्रदेशलाई आर्थिक रुपमा सम्पन्न र सम्वृद्ध बनाउन क्रियाशील छ । महासंघको कोशी प्रदेश समिति उद्योगी व्यवसायी मैत्री वातावरण निर्माणका लागि राज्यको तीन तहकै सरकार समक्ष निरन्तर समस्या उठान गर्दै समस्या समाधान गराउने तर्फ लागि परेका छन् ।

महासंघको कोशी प्रदेश अध्यक्ष उद्योगी राजेन्द्र राउतले पछिल्लो समय कृषि क्षेत्रको रूपान्तरणका लागि विभिन्न साझेदार संस्था सँग सहकार्य गरेर काम गरिरहेका छन् । महासंघको कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारसँग सहकार्य गरेर यही २०८१ साल भदौं २७ देखि ३० गतेसम्म विराटनगरमा कृषि एक्स्पोको आयोजना गर्दैछ । कृषि एक्स्पोका लागि कृषि विशेषज्ञ पठाइदिन महासंघको कोशी प्रदेश समितिले बिहार इण्डष्ट्रिज एशोसिएसन सँग भेटघाट र छलफल गरेका हुन् ।

महासंघको कोशी प्रदेश अध्यक्ष उद्योगी राजेन्द्र राउत, महासंघको केन्द्रिय सदस्य उद्योगी अविनाश बोहरा र महासंघको कोशी प्रदेश कोषाध्यक्ष उद्योगी सुभाष आचार्य नेतृत्वको टोली विराटनगरमा आयोजना हुन लागेको कृषि एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न भारतको उद्योगी सँग भेटघाट र छलफल गर्न पटना पुगेका थिए ।