“सरकारको अनुदान लिन दुग्ध उद्योग खोल्नुहोस्”

  • ब्रह्मदेव यादव, विराटनगर ४५५  पटक हेरिएको

बिहिबार, साउन ३१, २०८१ समय : १८:१८:०८ , ३ महिना अगाडि

कोशी प्रदेश सरकारले सरकारको अनुदान लिनका लागि उद्योगीलाई दुग्ध उद्योग खोल्न सल्लाह दिएका छन् । कोशी प्रदेश सरकार र उद्योगी बिच बिहीबार विराटनगरमा भएको छलफलमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योगीलाई सरकारी अनुदानका लागि दुग्ध उद्योग खोल्न सल्लाह दिएका छन् ।

कोशी प्रदेश सरकारले साउन ३२ गते शुक्रबार १०० दिन पुरा गर्दैछ ।  सरकार १०० दिन पुरा गर्न लागेको अवसरमा बिहीबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगरमा आयोजना गरेको छलफल कार्यालयमा मुख्यमन्त्री कार्कीले उद्योगीलाई दुग्ध उद्योग तर्फ लगानी बढाउन सुझाव दिएका छन् ।

मुख्यमन्त्री कार्कीले उद्योगीलाई भने: कोशी प्रदेश सरकारले दुग्धमा अनुदान दिइरहेका छन् । विदेशमा घ्यू निर्यात गरिरहेका विराटनगर–१४ को सूर्योदय दुग्ध उद्योगलाई दुग्धजन्य पदार्थ निर्यातमा अनुदान दिइरहेका छन् । सरकारको अनुदान चाहिन्छ भने दुग्ध उद्योग खोल्नुहोस् ।

नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेशका संस्थापक अध्यक्ष उद्योगी भीम घिमिरे, कोशी प्रदेश अध्यक्ष उद्योगी पवनकुमार सारडा, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिला साह, विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा सहित उद्योगीहरूको छलफल कार्यक्रममा सहभागिता रहेको थियो ।