- ब्रह्मदेव यादव, विराटनगर ७२५ पटक हेरिएको
बुधबार, साउन ३०, २०८१ समय : १३:१०:२८ , ३ महिना अगाडि
भदौं ११ गते विराटनगरमा निकालिन लागिएको श्रीराधाकृष्ण रथयात्राको तयारीबारे बुधबार विराटनगरमा वृहत रुपमा छलफल भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रथयात्राबारे आयोजक समिति‚ सुरक्षा निकाय र सरोकारवाला निकायसँग वृहत रुपमा छलफल गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मी‚ उपाध्यक्ष नन्दकिशोर राठी र सचिव कृष्ण कार्कीसँग रथयात्राको मर्मत सम्भार तयारी र रथयात्राका लागि चाहिने आवश्यक सुरक्षाकर्मी र स्वयंसेवक बारे जानकारी लिएका छन् । श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भदौं ११ गते विराटनगर–१ स्थित पानीट्याङ्कीबाट निस्कने रथयात्रा नगर क्षेत्रको विभिन्न ४३ स्थानमा रोकेर पुन: मन्दिरमा पुगेर समापन हुने जानकारी गराएका छन् ।
रथयात्रा आयोजक समितिका सचिव कृष्ण कार्कीले कोशी प्रदेश सहित नेपाल र भारतका ५ लाख भन्दा बढि भक्तजनहरू श्रीराधाकृष्ण रथयात्राको अवलोकन गर्ने जानकारी गराएका छन् । रथयात्रालाई भव्य रुपमा सम्पन्न गर्न सरोकारवाला निकायको महत्वपूर्ण देन हुन सक्ने भएकोले सुरक्षा निकाय‚ विराटनगर महानगरपालिका‚ सडक‚ विद्युत‚ टेलिकम कार्यालयका प्रतिनिधि सँग प्रमुख जिल्ला अधिकारी भट्टराईले छलफल गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले रथ निकालिनु भन्दा अगाडि खाल्डाखुल्डी रहेको सडकलाई मर्मत सम्भार गर्न विराटनगर महानगरपालिकालाई आग्रह गरेका छन् । विराटनगरको ट्राफिक चौकदेखि रोडशेष चौकसम्मको सडक मार्गमा नेपाल विद्युत प्राधिकरण र विभिन्न नेटवर्क कम्पनीलाई लत्रिएको तारलाई व्यवस्थित गर्न सुझाव दिएका छन् । प्रमुख जिल्ला अधिकारी भट्टराईले नेपाल विद्युत प्राधिकरण विराटनगर शाखालाई ट्राफिक चौकदेखि रोडशेष चौकसम्मको अव्यवस्थित विद्युत र नेटवर्कको तार व्यवस्थित भएनभएको बारे भदौं १० गते अगाडिनै चिठ्ठी लेखेर जानकारी गराउन अल्टिमेटम दिएका छन् ।