विराटनगर भन्सार कार्यालयमा “एक पद एक काम”

  • ब्रह्मदेव यादव, विराटनगर ४३९  पटक हेरिएको

सोमबार, साउन २१, २०८१ समय : १६:०६:३३ , ४ महिना अगाडि

विराटनगर भन्सार कार्यालयमा नयाँ नियम लागू गरिएको छ । प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले भन्सार प्रतिनिधिको हकमा एक पद एक काम नयाँ नियम लागू गरेका छन् । विराटनगर भन्सार कार्यालयमा भन्सार प्रतिनिधिले औद्योगिक र व्यापारिक (ट्रेडिङ) सामान आयात निर्यात सम्बन्धी काम गर्दै आइरहेका थिए ।

प्रमुख भन्सार अधिकृत ढकालले अब उद्योग प्रतिनिधिले उद्योगको मात्रै  र व्यापारिक प्रतिनिधिले व्यापारीको मात्रै काम गर्न पाउने नयाँ नियम लागू भएको बताए ।  तर भन्सार एजेन्टको हकमा पुरानै नियम यथावत छ । प्रमुख भन्सार अधिकृत ढकालले २०८१ साउन १ गतेदेखि नयाँ नियम लागू गर्दै भन्सार प्रतिनिधिलाई भन्सार कार्यालयको मुख्य प्रशासनिक भवन प्रवेशमा रोक लगाएको छ ।

प्रमुख भन्सार अधिकृत ढकालले उद्योग प्रतिनिधिले उद्योगको मात्रै सामान आयात निर्यात गर्न पाउने नयाँ व्यवस्था लागू भएकोले अनावश्यक रुपमा भन्सार कार्यालयमा प्रवेश गर्ने प्रतिनिधिलाई प्रवेशमा रोक लगाइएको बताए । पछिल्लो समय विराटनगर भन्सार कार्यालयमा आयात निर्यातको सामान जाँच पास गराउन प्रतिनिधिलाई उकुस मुकुसको अवस्था तयार भएको छ । एक उद्योग प्रतिनिधिलाई उद्योगका सञ्चालकले मासिक रुपमा २० देखि २२ हजार रुपैयाँसम्म तलब दिन्छ ।

ती उद्योग प्रतिनिधिले उद्योग बाहेक व्यापारिक आयात निर्यातको सामान जाँच पास गराउँदा थप केही रकम पाउँथे र जिविकोपार्जन गर्न सहज अवस्था थियो । अब एक प्रतिनिधिले एक मात्र काम गर्दा जिविकोपार्जन गर्न गाह्रो हुने अवस्था सृजना भएकोले भन्सार क्षेत्रबाट पलायन हुने अवस्था छ । यस विषयमा उद्योगी व्यवसायीको प्रतिनिधिमूलक संस्थाका पदाधिकारीहरू मौन छ ।