- ब्रह्मदेव यादव, विराटनगर ९५६ पटक हेरिएको
बुधबार, साउन १६, २०८१ समय : १३:१४:५५ , ४ महिना अगाडि
विराटनगर महानगरपालिकाको वडा नं. ११ स्थित बसपार्कको दक्षिण तर्फ प्रतिकठ्ठा जग्गा ४ देखि ६ करोड रुपैयाँका दरले बिक्री भई रहेका छन् । ट्यालेन्ट रिक्यूटमेन्ट एण्ड हाउजिङ प्रा.लि. ले बुधबारदेखि विराटनगर बसपार्कमा प्लटिङ गरेको प्रतिधुर घडेरी जग्गा २० देखि ३० लाख रुपैयाँका दरले बिक्री सुरु गरेका छन् ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ३ वर्ष अगाडि विराटनगर बसपार्कको मझुवा पोखरीलाई प्रति कठ्ठा २ करोड रुपैयाँका दरले बिक्री गरेका थिए । काठमाडौंका दिपक मल्होत्रा, सुरेन्द्रबहादुर सिंह र ध्रुव घिमिरेले खरीद गरेको मझुवा पोखरीलाई अन्तर्राष्ट्रिय मापदण्ड स्तरको घडेरीमा रूपान्तर गरेर प्रतिकठ्ठा ४ देखि ६ करोड रुपैयाँका दरले बिक्री सुरु गरेका छन् ।
काठमाडौंका धनाढ्य मल्होत्रा सहित उनका साझेदार पार्टनरले सुरुमा ठुलो होटल बनाउने भन्दै मझुवा पोखरी खरीद गरेका थिए । तर पछिल्लो समय मल्होत्रा र उनका साझेदार पार्टनरहरुले होटल नबनाई प्लटिङ गरेर जग्गालाई घडेरीको रुपमा बिक्री गर्न थालेका छन् । ४८ कठ्ठा १३ धुर जग्गालाई मल्होत्रा र उनका साझेदार पार्टरहरुले टुक्रा टुक्रा गरेर ६९ वटा जग्गा घडेरी बनाएका छन् । न्यूनतम ८ धुरदेखि १ कठ्ठासम्मको जग्गालाई एउटा घडेरी बनाएका छन् ।
घडेरी जग्गाको मुख्य सडक मार्ग २६ फिट रहेका छन् भने सहायक सडक मार्ग २० फिटका रहेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र मल्होत्राले बुधबार प्लटिङ जग्गाको बिक्री वितरण सुरु भएको घोषणा गरेका छन् । जग्गा धनी मल्होत्रा सहित उनका साझेदार पार्टनरले सुरुको ७ दिन भित्र जग्गा खरीद गर्ने जग्गा धनीलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।