आन्तरिक राजश्व कार्यालय इटहरीले १०९.१६ प्रतिशतले असुली गर्‍यो राजश्व

  • ब्रह्मदेव यादव, विराटनगर ४७७  पटक हेरिएको

बुधबार, साउन ०२, २०८१ समय : १६:०८:५२ , ५ महिना अगाडि

आन्तरिक राजश्व कार्यालय सुनसरी इटहरीले १०९.१६ प्रतिशतले राजश्व असुली गरेका छन् । आन्तरिक राजश्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत अर्जुन न्यौपानेले आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा १०९.१६ प्रतिशतले बढि राजश्व असुली भएको जानकारी गराएका छन् ।

प्रमुख कर अधिकृत न्यौपानेले २०७९/०८० मा ४ अर्ब ३० करोड ९ लाख रुपैयाँ राजश्व असुली भएकोमा २०८०/०८१ मा ४ अर्ब ६९ करोड ५० लाख रुपैयाँ राजश्व असुली भएको जानकारी गराउनु भयो । २०७९/०८० को तुलनामा २०८०/०८१ मा ३९ करोड रुपैयाँ बढि राजश्व असुली भएको प्रमुख कर अधिकृत न्यौपानेले बताए । जुन १०९.१६ प्रतिशतले राजश्व असुली भएको हो ।

कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ५ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ४ अर्ब ६९ करोड ५० लाख रुपैयाँ राजश्व असुली भएको बताए । जुन लक्ष्यको तुलनामा ८५.०८ प्रतिशतले राजश्व असुली भएको हो । आन्तरिक राजश्व कार्यालय इटहरीमा ४७ हजार व्यवसायी करदाता रहेका छन् । त्यही करदाताबाट कार्यालयले कर असुली गरेको हो । २०६९ सालमा इटहरीमा करदाता सेवा कार्यालय खुलेको थियो ।

२०७७ सालमा करदाता सेवा कार्यालयबाट आन्तरिक राजश्व कार्यालयमा परिणत भएको हो । २०८० साल माघदेखि आन्तरिक राजश्व कार्यालय इटहरी आफ्नै सुविधा सम्पन्न नयाँ भवनमा सरेको छ । जुन कार्यालयमा करदाता सेवाग्राही अन्तशुल्कको विवरण बुझाउन, करदाताको प्रमाणपत्र लिन, करदाताले विवरण सच्याउन र व्यवसायीक फर्म दर्ता गर्न बाहेक सेवाग्राही कार्यालय जानु पर्दैन । बाँकी सबै काम अनलाइन प्रविधिबाट हुने गरेको छ ।