कोशी प्रदेश खेलकुद विकास बोर्डले २ सय जना खेलाडीलाई ४० लाखको पुरस्कार बाड्यो

  • ब्रह्मदेव यादव, विराटनगर ३५६  पटक हेरिएको

आइतबार, आषाढ ३०, २०८१ समय : १४:४९:०१ , ४ महिना अगाडि

कोशी प्रदेशको खेलकुद विकास बोर्डले २ सय जना खेलाडीलाई ४० लाख रुपैयाँ बराबरको पुरस्कार वितरण गरेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार विराटनगरमा आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पदक प्राप्त खेलाडी र प्रशिक्षकहरूलाई नगद सहित सम्मानपत्र प्रदान गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री पाचकर्ण राई, कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवार र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले खेलाडी र प्रशिक्षकलाई नगद सहित सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको हो ।

खेलकुद क्षेत्रका गुरु सन्तोष बानिया र मदन उप्रेतीलाई कार्यक्रममा सम्मान गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको लोगो र वेभसाइड निःशुल्क निर्माण गर्ने विजयकुमार बस्नेतलाई कार्यक्रममा नगद राशि सहित सम्मान गरिएको छ ।

पत्रकारिता क्षेत्रको माध्यमबाट खेलकुद क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकार भुमिका पाख्रिन, किशोर बुढाथोकी, नविन अर्याल, चुमन बस्नेत, प्रेम देवान, भुमिराज पराजुली, पुष्पराज थपलिया र हिमाल खरेललाई नगद सहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको छ ।