सुतीको साडी, धोती र गम्छामा भ्याट कर लागू

  • ब्रह्मदेव यादव, विराटनगर ३७८  पटक हेरिएको

आइतबार, जेठ २०, २०८१ समय : १६:१०:४९ , ६ महिना अगाडि

नेपाल सरकारले सुतीको साडी, सुतीको धोती र सुतीको गम्छामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत भारतबाट नेपालमा आयात भईरहेको सुतीको साडी, धोती र गम्छामा १३ प्रतिशत भ्याट कर लागू गरेको हो । सरकारले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सुतीको साडी, धोती र गम्छामा भ्याट कर लागु गरेको थिएन । तर आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत सुर्तीजन्य कपडामा भ्याट कर लागू गरेको हो ।

जसको कारण अब नेपालमा सुर्तीजन्य कपडा साडी, धोती र गम्छाको प्रयोग कर्ता सर्वसाधारणले महँगो मूल्य तिर्नुपर्ने अवस्था सृजना भएको छ । सरकारले भारतबाट नेपालमा आयात गरी रहेको सुतीको साडी, धोती र गम्छामा १० प्रतिशत भन्सार राजश्व लाग्ने व्यवस्था गरेको छ । अब कपडा आयात कर्ता व्यवसायीले १० प्रतिशत भन्सार राजश्व बाहेक थप १३ प्रतिशत भ्याट कर तिर्नुपर्ने अवस्था सृजना भएको छ ।

अघिल्लो वर्ष २०८०/०८१ को बजेटमा १० प्रतिशत कायम रहेको सुतीको गम्छामा भन्सार राजश्व वृद्धि गरेर आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत २० प्रतिशत पुर्‍याइएको छ । सरकारले सफटा सुविधा प्रदान गरी रहेको कपडा आयात कर्ता व्यवसायीले अब भन्सार राजश्व वृद्धि र भ्याट कर लागू भएपछि भन्सार ऐनले व्यवस्था गरे बमोजिम शतप्रतिशत भन्सार राजश्व तिर्नुपर्ने ठाउँमा अन्य कपडा आयात कर्ता व्यवसायीको कपडामा भन्सारका कर्मचारीको मिलेमतोमा सफटा सुविधा अन्तर्गत चेक जाँच पास गराउँदा देशको मोटो रकम बराबरको राजश्व गुम्ने खतरा बढेको छ ।