निर्मला तावा लिम्बुलाई आरोप प्रमाणित गर्न पार्वती यादवको चेतावनी

  • ब्रह्मदेव यादव, विराटनगर ६२४  पटक हेरिएको

शुक्रबार, जेठ १८, २०८१ समय : १३:५३:४३ , ६ महिना अगाडि

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवका श्रीमती पार्वती यादवले निर्मला तावा लिम्बुलाई आरोप प्रमाणित गर्न चेतावनी दिएका छन् । यदि आफू माथि लगाएको आरोप प्रमाणित गर्न सक्दैन भने कोशी प्रदेश वासीसँग क्षमा याचना माग्न लिम्बुलाई सुझाव दिएकी छिन् । केही समय अगाडि जनता समाजवादी पार्टी नेपाल विभाजित भएर जनता समाजवादी पार्टी गठन र नामाकरण भएको छ । पार्टीका पूर्व बरिष्ठ नेता अशोक राईले जनता समाजवादी पार्टीको नेतृत्व गरी रहेका छन् ।

उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल छोडेर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका कोशी प्रदेश सांसद निर्मला तावा लिम्बुले जेठ १६ गते विराटनगरमा पत्रकार सम्मेलन गरेर पार्वती यादव माथि कर्मचारी सरुवा, सचिवालयदेखि नयाँ नियुक्तिका लागि दवाव दिएको आरोप लगाएकी थिइन । जनता समाजवादी पार्टी नेपालको तर्फबाट कोशी प्रदेशका समानुपातिक सांसद निर्मला तावा लिम्बु केही समय अगाडि कोशी प्रदेश सरकारमा स्वास्थ्य मन्त्री रहेका थिए ।

मन्त्री रहँदा पार्वती यादवले स्वास्थ्य क्षेत्र सँग आवद्ध कर्मचारीको सरुवा, सचिवालय देखि अन्य नयाँ नियुक्तिका लागि आफ्नो मान्छे राख्न दवाव दिएको आरोप लगाएकी थिइन । निर्मला तावा लिम्बुले लगाएको आरोपको खण्डन गर्दै पार्वती यादवले आफू कहिले कुनै पनि कर्मचारीको सरुवा सचिवालयदेखि अन्य नयाँ नियुक्तिका लागि कुनै पनि आफ्नो मान्छे राख्न दवाव नदिएको स्पष्ट पारेकी छिन् ।

जनता समाजवादी पार्टी नेपालको कुनै पनि पदमा नरहेकी पार्वती यादव पूर्ण रुपमा गृहणी हुन् । २०६२/०६३ को मधेस विद्रोहको क्रममा पार्टीका कार्यकर्ता सँग सधै अग्रमोर्चामा सडकमा देखिने पार्वती यादव स्वच्छ छवि भएकी इमान्दार, लगनशील, संघर्षशिल, जुझारु महिला हुन् । शुक्रबार चिरफार डटकम सँग कुरा गर्दै पार्वती यादवले भनिन्– पूर्व मन्त्री निर्मला तावा लिम्बुले म माथि लगाएको आरोप प्रमाणित गर्नु पर्‍यो ।

हैन भने राजनैतिक रुपमा मेरो चरित्र हत्या गर्ने गरी लगाएको आरोपको खण्डन गर्नु पर्‍यो । आफू माथि लगाएको आरोप प्रमाणित गर्न सक्नु भएन भने कोशी प्रदेश वासीसँगै मधेस वासीसँग क्षमा याचना माग्नु पर्‍यो । होइन भने झुठो आरोप लगाएर चरित्र हत्या गर्ने निर्मला तावा लिम्बुका विरुद्ध कानुनी उपचार खोज्ने यादवले चेतावनी दिएकी छिन् ।