- ब्रह्मदेव यादव, विराटनगर ९६८ पटक हेरिएको
बिहिबार, जेठ १७, २०८१ समय : १४:५७:२९ , ६ महिना अगाडि
कोशी प्रदेशमा २ दिने श्रमाधान रोजगार मेला सुरु भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरको सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा बिहीबारदेखि सुरु भएको रोजगार मेलाको शुक्रबार समापन हुनेछ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ १७ गतेदेखि ३० गतेसम्म देशको ७ वटै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको छ । जेठ १७ गते बिहीबार कोशी प्रदेशको राजधानी विराटनगरबाट सुरु भएको समाधान रोजगार मेला बागमती प्रदेशको ललितपुर पाटनमा ३० गते समापन हुनेछ ।
संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र स्थानीय सरकार विराटनगर महानगरपालिकाले कोशी प्रदेशको राजधानी विराटनगरमा श्रमाधान मेलाको आयोजना गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले श्रमाधान रोजगार मेलाको संयोजन गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति अध्यक्ष राजेन्द्र राउतले बेरोजगार युवाहरूलाई रोजगार उपलब्ध गराउने उद्देश्यका साथ श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताए । मेलाबाट संकलित नाम मध्ये २ सय ५० भन्दा बढि दक्ष युवाहरूलाई रोजगार उपलब्ध गराउने अध्यक्ष राउतले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबार विराटनगरमा श्रमाधान रोजगार मेलाको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलमणी आचार्य र कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रोजगारका लागि विदेशिन लागेका युवाहरूलाई नेपालमै रोजगार उपलब्ध गराउने उद्देश्यका साथ देशभरी बेरोजगार रहेका युवाहरूको नाम संकलन गर्न देशभरी नै श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताए । विराटनगरको श्रमाधान रोजगार मेलामा ५० भन्दा बढि स्टलबाट बेरोजगार युवाको नाम संकलन गर्ने काम भईरहेका छन् ।