- ब्रह्मदेव यादव, विराटनगर ६४३ पटक हेरिएको
बुधबार, जेठ १६, २०८१ समय : १६:१०:३५ , ६ महिना अगाडि
नेपाल सरकारले बुधबारदेखि देशभरीका भन्सार कार्यालयबाट अस्थायी पैठारी कर वापत प्रत्येक सवारी साधनबाट १ हजार ५ सय रुपैयाँ असुली गर्न थालेपछि उद्योगी व्यवसायीले यसको विरोध गरेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरे लगत्तै बुधबारदेखि विराटनगर भन्सार कार्यालयबाट आयात हुन लागेको प्रत्येक सवारी साधनबाट अस्थायी पैठारी कर शीर्षकमा १ हजार ५ सय रुपैयाँ असुली गर्न थालेका छन् ।
विराटनगर भन्सार कार्यालयमा २ सयको हाराहारीमा भन्सार एजेन्ट रहेका छन् । सुनसरी मोरङ र विराटनगर कटहरी औद्योगिक करिडोरमा रहेका एउटै उद्योगी व्यवसायीको प्रत्येक दिन ३० भन्दा बढि मालवाहक सवारी साधन विराटनगर भन्सार कार्यालयमा चेक जाँच पास भएर विराटनगर भित्रिन्छ । देशभरीका ५० भन्दा बढि भन्सार नाकाबाट प्रत्येक दिन हजारौं मालवाहक सवारी साधन नेपाल भित्रिन्छन् । सरकारले अर्थमन्त्रालय अन्तर्गत देशभरीका भन्सार कार्यालयबाट वार्षिक रुपमा स्थायी पैठारी कर वापत १५ अर्ब रुपैयाँको हाराहारीमा रकम असुली गर्न लागेको हो ।
यस अघि विराटनगर भन्सार कार्यालय सहित देश भरीका भन्सार कार्यालयबाट प्रत्येक प्रज्ञापन पत्रबाट ५ सय ६५ रुपैयाँका दरले भन्सार सेवा शुल्क असुली गरिरहेका छन् । यो भनेको देशभरीको भन्सार कार्यालयबाट सरकारले भन्सार सेवा शुल्क वापत असुली गर्ने ५ अर्ब भन्दा बढि रकम हो । सरकारले एउटै आर्थिक वर्षमा देशभरीका भन्सार कार्यालयबाट भन्सार सेवा शुल्क र भन्सार अस्थायी पैठारी कर वापत २० अर्बभन्दा बढि रकम असुली गर्न लागेको हो । तर सरकारले अर्थमन्त्रालय मार्फत देशभरीका भन्सार कार्यालयबाट असुली गर्न लागेको ५ सय ६५ रुपैयाँको भन्सार सेवा शुल्क र १ हजार ५ सय रुपैयाँको भन्सार अस्थायी पैठारी करको बेग्लाबेग्लै बिल काटेर रकम असुली गर्न थालेका छन् ।
यी दुवै शिर्षकको एउटै बिलबाट रकम असुली गर्दा एक मुष्ट मोटो रकम देखिने भएकोले चोर बाटो अपनाएर दुवै शीर्षकमा बेग्लाबेग्लै बिलबाट रकम असुली गर्न थालेका छन् । यसको कोशी प्रदेशका उद्योगी व्यवसायीले विरोध गरेका छन् । विराटनगर भन्सार प्रशासनले अर्थमन्त्रालयको परिपत्रलाई पालना मात्रै गराएको प्रतिक्रिया दिएका छन् ।