विराटनगर भन्सार कार्यालयले छोड्यो कच्चा तेलको ट्याङ्कर

  • ब्रह्मदेव यादव, विराटनगर ६५५  पटक हेरिएको

सोमबार, जेठ १४, २०८१ समय : १७:४५:१८ , ६ महिना अगाडि

विराटनगर भन्सार कार्यालयले एक सातादेखि रोकेर राखेको कच्चा तेलको ट्याङ्करलाई सोमबार छोडेको छ । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाललाई कच्चा तेल बोकेको ट्याङ्कर छोड्न निर्देशनात्मक परिपत्र गरेपछि भन्सार प्रशासनले सोमबार कच्चा तेल बोकेको ट्याङ्कर छोडिदिएको हो ।

सुनसरी मोरङ र विराटनगर कटहरी औद्योगिक करिडोरमा कच्चा तेलको उद्योग सञ्चालन गरिरहेको के.एल. दुगड ग्रुपको स्वतिक आयल रिफाइनरी प्रा.लि., विपिन काबराको क्वालिटी आयल रिफाइनरी प्रा.लि. र अविनाश बोहराको एभरेष्ट सल्भेन्ट प्रा.लि. को ४० भन्दा बढि ट्याङ्कर विराटनगर भन्सार कार्यालयबाट चेक जाँच पास भई छुटेका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले तेस्रो मुलुक यूक्रेन र मलेसियाबाट नेपाल आयात भई रहेको कच्चा तेलमा गडबडको आशंका गर्दै परीक्षणका लागि नमुना काठमाडौंको प्रयोगशालामा पठाएका थिए ।

प्रयोगशालाले युक्रेन र मलेसियाबाट नेपालमा आयात भइरहेको कच्चा तेलमा गढबढ नभएको रिपोर्ट दिएपछि भन्सार विभागका महानिर्देशक निरौलाले विराटनगर भन्सार कार्यालयमा रोकेर राखेको ट्याङ्कर छोड्ने आदेश दिएको हो । तेस्रो मुलुक युक्रेन र मलेसियाबाट नेपालमा आयात भई रहेको कच्चा तेलमा १० प्रतिशत भन्सार राजश्व लाग्ने व्यवस्था छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ढकालले सुनसरी, मोरङ र विराटनगर, कटहरी औद्योगिक करिडोरका उद्योगीले तेस्रो मुलुकबाट तयारी तेल ल्याएर कच्चा तेल भन्दै राजश्व छली गरिरहेको आशंका गरेका थिए । नेपाल सरकारकै प्रयोगशालाबाट भन्सार प्रमुख ढकालले दाबी सहित आशंका गरेको कुरा प्रमाणित हुन सकेन ।