- ब्रह्मदेव यादव, विराटनगर ५५७ पटक हेरिएको
बिहिबार, जेठ १०, २०८१ समय : १२:३१:१८ , ६ महिना अगाडि
कोशी प्रदेशका अग्रज पत्रकारलाई नेपाल प्रेस यूनियनले सम्मान गरेको छ । नेपाल प्रेस यूनियनको कोशी प्रदेश समितिले बिहीबार विराटनगरमा आयोजना गरेको प्रदेश भेलामा ६ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो ।
नेपाली कांग्रेसका बरिष्ठ नेता एवं संघीय सांसद डा. शेखर कोइराला, नेपाल प्रेस यूनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल र नेपाल प्रेस यूनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले अग्रज पत्रकार खोटाङका कृष्ण आचार्य, झापाका गोविन्द क्षेत्री, सुनसरीका गिरिराज आचार्य र हर्ष सुब्बा, मोरङका भारती उपाध्याय र दुर्गाप्रसाद खतिवडालाई सम्मान गरेको हो ।
मोरङका दुर्गाप्रसाद खतिवडा सम्मान समारोहमा उपस्थिति हुन नसकेकोले वहाँको सम्मान घरमै पुर्याइ दिने नेपाल प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष नवोदितले बताए । नेपाल प्रेस यूनियन ३३औं वर्षमा प्रवेश गरेको अवसरमा यूनियनको कोशी प्रदेश समितिले बिहीबार विराटनगरमा आयोजना गरेको महिला पुरुष खुल्ला दौड स्पर्धाका विजेतालाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
महिला तर्फ इन्दु साह प्रथम, माला पालुंवा दोस्रो र जानुका नेपाल तेस्रो भएकी छिन् । पुरुष तर्फ कपलेश्वर अधिकारी यादव प्रथम, अनन्तराम चौधरी दोस्रो र सुरेश भट्टराई तेस्रो भएका थिए । विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार नगद रुपैयाँ प्रदान गरिएको थियो । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल प्रेस यूनियनको कोशी प्रदेश समितिले प्रादेशिक भेला र दौड स्पर्धा कार्यक्रम आयोजना गरेका थिए ।