- ब्रह्मदेव यादव, विराटनगर ९८० पटक हेरिएको
बुधबार, जेठ ०९, २०८१ समय : १६:४१:०० , ६ महिना अगाडि
विराटनगर भन्सार कार्यालयमा कच्चा तेल काण्ड घटना घटेको छ । जुन घटनालाई कच्चा तेल आतंकको रुपमा व्याख्या गरिएको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले तेस्रो देशबाट नेपाल भित्रिन लागेका सुनसरी र मोरङका आधा दर्जन भन्दा बढि कच्चा तेल उद्योगको तेल बोकेको ट्याङ्कर नियन्त्रणमा लिएका छन् । र ट्याङ्करमा रहेको कच्चा तेलको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाएका छन् । प्रयोगशालाबाट कच्चा तेल परीक्षणको रिपोर्ट नआएसम्म कच्चा तेल बोकेको ट्याङ्कर विराटनगर भन्सार कार्यालयकै परिसरमा रहने छ ।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा कच्चा तेलको उद्योग सञ्चालन गरी रहेका स्वस्तिक आयल, एभरेष्ट सल्भेन्ट, पारा भेजिटेबल, पशुपति खाद्य तेल उद्योग, सेल्लो तेल उद्योग, श्री राम रिफाइनरी उद्योग र क्वालिटी रिफाइनरी उद्योगको ४० भन्दा बढि कच्चा तेल बोकेको ट्याङ्कर विराटनगर भन्सार कार्यालयमा भन्सार प्रशासनले नियन्त्रणमा लिएका छन् । जुन कच्चा तेल विराटनगर भन्सार कार्यालयबाट चेक जाँच पास भएर सम्बन्धित उद्योगमा नपुगेसम्म तेल उद्योगीले ट्याङ्कर भाडा, भन्सार पार्किङ शुल्क र चालक सहचालकको चिया, नास्ता, खाना खर्च वापत मोटो रकम तिर्नुपर्ने अवस्था सृजना भएको छ ।
तेस्रो देश युक्रेन र मलेसियाबाट नेपालमा कच्चा तेल आयात भई रहेको छ । कच्चा तेलमा १० प्रतिशत भन्सार राजश्व र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था छ । तर तेस्रो मुलुकबाट तयारी तेल नेपाल आयात भएको खण्डमा १५ प्रतिशत भन्सार राजश्व र १३ प्रतिशत भ्याट कर लाग्ने व्यवस्था छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले सुनसरी र मोरङका कच्चा तेल उद्योगका सञ्चालकले तेल बिक्री गर्ने युक्रेन र मलेसियाका तेल उद्योगी सँग साँठगाँठ गरेर कच्चा तेलको सट्टा तयारी तेल आयात गरेर कच्चा तेल भन्दै भन्सार राजश्व चोरी गरी रहेको आरोप लगाउँदै कच्चा तेल बोकेको ट्याङ्कर नियन्त्रणमा लिएको दाबी गरेका छन् । र तेलको परीक्षणका लागि नमुना काठमाडौं पठाएका छन् । केही दिन अगाडि जनकपुरका एक कच्चा तेल उद्योगको तीन ट्याङ्कर तयारी तेल विराटनगर भन्सार कार्यालयमा पक्राउ परेका थिए । जनकपुरका व्यवसायीले कच्चा तेल भन्दै आयात गरेको तेल परिक्षण पछि तयारी तेल भएको पुष्टि भएको थियो ।
जनकपुरका तेल व्यवसायीले आफूले मात्रै होइन सुनसरी र मोरङका तेल व्यवसायीले आफू जस्तै तयारी तेल ल्याएर कच्चा तेल भन्दै भन्सार राजस्व चोरी गरी रहेको जाहेरीको आधारमा सुनसरी र मोरङका कच्चा तेल उद्योगका ट्याङ्कर विराटनगर भन्सार प्रशासनले नियन्त्रणमा लिएको हो ।
यस विषयमा सुनसरी र मोरङका कच्चा तेल उद्योगका सञ्चालक केही बताउन मान्दैनन् । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पर्शुराम दाहालले कच्चा तेल शंकास्पद रहेकोले अनुसन्धान भइरहेको बताए ।