- ब्रह्मदेव यादव, विराटनगर ४७० पटक हेरिएको
सोमबार, जेठ ०७, २०८१ समय : १८:३०:११ , ६ महिना अगाडि
स्वास्थ्य कार्यालय मोरङले मोरङ जिल्लाका ५२ हजार ३ सय ५२ जना बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको आई.पी.भी. खोप लगाउँने तयारी गरेको छ । जेठ २६ गतेसम्म खोप लगाउने कार्यक्रम सञ्चालनमा रहने छ । स्वास्थ्य कार्यालय मोरङले सोमबार विराटनगरमा सञ्चारकर्मीहरू सँग आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा २०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका साढे ५ वर्षदेखि ८ वर्ष सम्मका बालबालिकाहरूलाई आई.पी.भी. खोप लगाउने जानकारी गराए ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले २०७३ देखि २०७५ सम्म खोप उत्पादन गर्ने औषधि कम्पनीले नेपाललाई पोलियो रोग विरुद्धको आई.पी.भी. खोप दिन नसकेको कारण यतिखेर मात्रै खोप उपलब्ध भएकोले खोप लगाउने अभियान सञ्चालनमा आउन लागेको बताए । मोरङ जिल्लाको १ हजार ६७ विद्यालयमा अध्ययनरत ५२ हजार ३ सय ५२ बालबालिकालाई विद्यालयकै खोप केन्द्र मार्फत आई.पी.भी. खोप लगाउने तयारी पुरा भएको डा. मेहताले बताए ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, उपप्रमुख उषा झा, स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारी, स्वास्थ्य कार्यालय मोरङका स्वास्थ्य अधिकृत उत्सव पोखरेल सञ्चारकर्मीहरू सँगको अभिमुखीकरण कार्यक्रममा सहभागिता जनाएका थिए । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले नेपाल सरकारद्वारा सञ्चालित विभिन्न खोप कार्यक्रमको बारेमा सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए ।