- ब्रह्मदेव यादव, विराटनगर ८४६ पटक हेरिएको
बिहिबार, जेठ ०३, २०८१ समय : १५:५१:१५ , ६ महिना अगाडि
मोरङमा राजनैतिक क्षेत्रका चर्चित अनुहार उमेश यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा फर्किन लागेकै हो ? उपेन्द्र यादव र उमेश यादवको भेटघाटले यही सन्देश प्रवाह भएको छ । २ वर्ष अगाडि विराटनगर महानगरपालिकाको निर्वाचनको बेला उम्मेदवार छनौटको विषयलाई लिएर उपेन्द्र यादवको निर्णय प्रति असहमति जनाउदै उमेश यादवले जनता समाजवादी पार्टी नेपालबाट राजिनामा दिएका थिए ।
२ वर्षपछि कुनै पनि राजनैतिक दलको कार्यक्रममा सहभागिता नजनाएका उमेश यादव बिहीबार एक्कासी जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसँग काठमाडौंमा भेटघाट गरेर सामूहिक तस्बिर खिचाएका छन् । उमेन्द्र यादव र उमेश यादवले भेटघाट पछि खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि उमेश यादव चाँडैनै जनता समाजवादी पार्टी नेपालमा फर्किन लागेको सन्देश प्रवाह भएको हो ।
राजनैतिक विचार धाराका कारण दुई तिर फर्केका उपेन्द्र यादव र उमेश यादवलाई एक ठाउँमा ल्याउने काम सनातन मण्डलले गरेका छन् । सनातन मण्डल विराटनगर स्थित गोल्डेन अस्पतालका सञ्चालक हुन् । उमेश यादव सँग जति नजिकको सम्बन्ध सनातन मण्डलको छ । त्यतिनै राम्रो सम्बन्ध सनातन मण्डलको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव सहित पार्टीका नेताहरू सँग छ ।
उपेन्द्र यादव र उमेश यादव बिचको भेटघाटको विषयलाई लिएर बिहीबार चिरफार डटकम सँग कुरा गर्दै सनातन मण्डलले भनेः २०६२/०६३ को मधेश विद्रोह पछि मोरङमा जनता समाजवादी पार्टी नेपाल (तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल) ले ९ मध्ये ४ वटा निर्वाचन क्षेत्रबाट सान्दार जित निकालेका थिए । पहिलो संविधान सभामा मोरङको क्षेत्र नं. ४ बाट रमानन्द मण्डल, ५ बाट उपेन्द्र यादव, ६ बाट भीमराज राजवंशी र ७ बाट विजयकुमार गच्छदार निर्वाचित भएका थिए । तर पछिल्लो समय मोरङमा जनता समाजवादी पार्टी नेपालको जितको अन्तर घट्दो क्रममा छ । र मोरङबाट जनता समाजवादी पार्टी नेपालको संघीय संसदमा प्रतिनिधि संख्या शून्य छ ।
पहिलो संविधान सभापछि २०६५ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका उमेश यादव पार्टीको तर्फबाट मोरङ जिल्ला अध्यक्ष भई सकेका छन् । र उनको मोरङको राजनैतिकमा राम्रो पकड छ । सनातन मण्डलले भनेः मोरङमा जनता समाजवादी पार्टी नेपालको संगठन ध्वस्त जस्तै छ । राजकुमार यादव मोरङ जिल्ला अध्यक्ष रहेका छन । तर उनी पछिल्लो समय राजनैतिक भन्दा व्यापारमा व्यस्त छन् ।
पार्टीको संगठनलाई चलायमान बनाउन र पार्टीको पुरानो साखलाई फर्काउन उपेन्द्र यादव र उमेश यादव बिच भेटघाट र छलफल भएको छ । उमेश यादवले पार्टीको संगठनको बारेमा उपेन्द्र यादवलाई छलफलको क्रममा जानकारी गराएका छन् । उमेश यादव जनता समाजवादी पार्टी नेपालमा फर्किन सकारात्मक रहेको सनातन मण्डलले बताए ।