शुक्रबार र शनिबार विराटनगरमा नेवाः महोत्सव

  • ब्रह्मदेव यादव, विराटनगर ४४१  पटक हेरिएको

बिहिबार, बैशाख १३, २०८१ समय : १७:५७:४३ , ७ महिना अगाडि

यही बैशाख १४ र १५ गते अर्थात शुक्रबार र शनिबार विराटनगरमा चौथो नेवाः महोत्सव एवं पर्यटन हाटको आयोजना हुन लागेको छ । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः ले विराटनगर–१० स्थित बंगलामुखी मार्गको झी पुचः सेवा भवनको प्राङ्गणमा नेवाः महोत्सवको आयोजना गर्न लागेको हो ।

झी पुचः विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरेर महोत्सवको विशेषताको बारेमा जानकारी गराएको हो । दुई दिने महोत्सवमा नेवारी सहित विभिन्न जातीय परिकारका खानेकुरा स्टल मार्फत बिक्री हुनेछ । कोशी प्रदेशका नेवार संघ संस्थासँग आवद्ध १ सय भन्दा बढि नेवार अगुवाहरूको महोत्सवमा सहभागिता रहने छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश राजभण्डारीले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । बैशाख १४ गते शुक्रबार पहिलो दिन आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा नेवार जातिको भूमिका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको न्यायाधीश विराटनगरका निवर्तमान अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेवार जातिको अवस्थाको बारेमा ३ बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गरिने र यसरी प्रस्तुत गरिने कार्यपत्र माथि छलफल गरिने छ । पत्रकार सम्मेलनमा झी पुचः विराटनगरका वरिष्ठ उपाध्यक्ष शरद श्रेष्ठ, कोषाध्यक्ष सञ्जयकुमार श्रेष्ठ लगायत पदाधिकारी सदस्य र संरक्षकहरुको सहभागिता रहेको थियो ।