- ब्रह्मदेव यादव, विराटनगर ५३१ पटक हेरिएको
बिहिबार, बैशाख १३, २०८१ समय : १४:१३:१७ , ७ महिना अगाडि
शिक्षा र रोजगारका लागि विदेश पलायन भइरहेका युवालाई नेपालमै रोक्ने अभियान थालिएको छ । निजी क्षेत्र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको युवा उद्यमी समितिले यस्तो अभियान थालेका छन् । जसका लागि समितिले अवसरको खोजीमा रहेका बेरोजगार युवालाई नेपालमै अवसर प्रदान गर्ने अभियान सुरु गरेका छन् । समितिले विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर अवसरको खोजीमा रहेका युवालाई अवसर प्रदान गर्ने खोज र अनुसन्धान जारी रहेको बताए ।
समितिले यही वैशाख १६ गते विराटनगर स्थित मोरङ उद्योग व्यापार संघको हलमा बेरोजगार युवालाई रोजगार प्रदान गर्ने गरी सम्बन्धित रोजगार उपलब्ध गराउने क्षेत्रको खोज तथा अनुसन्धानबारे जानकारी गराउने उद्देश्यले वृहत सेमिनारको आयोजना गर्दैछ । सामान्य नागरिकबाट सफल नागरिक बन्न सफल विभिन्न क्षेत्रका व्यक्तिहरूले सेमिनारमा आफ्ना प्रस्तुती प्रस्तुत गर्ने छन् ।
बैंकिङ क्षेत्रबाट सन्तोष राठी, औद्योगिक क्षेत्रबाट गिरिजा सारडा, होटेल तथा पर्यटन क्षेत्रबाट राजन श्रेष्ठ, सरकारी निकाय (श्रम तथा रोजगार) क्षेत्रबाट रीता खतिवडा र चिकित्सा क्षेत्रबाट डेनिस कार्कीले नेपालमै बसेर सफल व्यक्ति बन्न गर्नुपर्ने श्रम र मेहनतका बारेमा सेमिनार मार्फत आफ्ना प्रस्तुती प्रदान गरिने छ ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष उद्योगी प्रकाश मुन्दडाले शिक्षा र रोजगारका लागि विदेश पलायन भइरहेका युवालाई नेपालमै खोजे जस्तो जागिर उपलब्ध गराउने अभियानमा आफूहरू लागि परेको बताए । पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश युवा उद्यमी समितिका कार्यवाहक अध्यक्ष मुनन् रिजाल, परिसंघ कोशी प्रदेशका महानिर्देशक विजयहरी शर्मा सहित समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।