- ब्रह्मदेव यादव, विराटनगर १२९०१ पटक हेरिएको
बुधबार, बैशाख १२, २०८१ समय : १३:१५:३० , ७ महिना अगाडि
विराट व्यापार संघ विराटनगरले व्यापारी समस्याको पहिचान गरेर त्यसलाई समाधान गर्ने गरी काम गरिरहेको छ । आर्थिक मन्दीको मार खेपी रहेका विराटनगरका व्यापारीहरूको समस्या पहिचान गर्ने र त्यसलाई राज्यको निकायमार्फत समाधान गराउने उद्देश्यका साथ काम गरी रहेको संघका अध्यक्ष अंशु बन्जाराले बताए ।
वैदेशिक रोजगारी तर्फ नेपाली युवाहरूको पलायन र आर्थिक मन्दीका कारण विराटनगरको व्यापार दिनदिनै घट्दो क्रममा रहेको र त्यसका कारण व्यापारीमा निराशा उत्पन्न भई व्यापार छोड्ने क्रम बढेकोले त्यसलाई रोक्न व्यापारी समस्याको पहिचान गर्ने र ती समस्यालाई राज्यको निकाय मार्फत समाधान गराउने गरी तीन तहकै सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी भई रहेको संघका अध्यक्ष बंजाराले बताए ।
संघले विराटनगरका व्यापारीलाई यही बैशाख १५ गतेभित्र आ–आफ्ना समस्यालाई बुँदागत रुपमा उल्लेख गरेर संघमा बुझाउन समय सिमा तोकेको छ । व्यापारीको समस्या राज्यको कुन कुन निकाय मार्फत समाधान गर्न सकिन्छ । त्यही निकायसँग छलफल गरेर व्यापारीलाई टिकाइ राख्ने अभियानमा जुटेको अध्यक्ष बंजाराले बताए । विराटनगरमा केही समय यता व्यावसायिक पसल र सटर खाली हुने क्रम बढ्दो छ । घर भाडा र कर्मचारीको तलब महँगो छ ।
घर भाडा तिर्न नसकेर व्यवसायी पसल बन्द गरेर वैदेशिक रोजगार तर्फ पलायन हुने क्रम बढ्दो क्रममा रहेकोले त्यसलाई रोक्न संघले पहल कदम चालेको बंजाराको भनाइ छ । विराटनगरदेखि नेपाल भारतको सिमा क्षेत्र नजिक छ । सीमान्त क्षेत्र भारतको जोगबनी बजारमा प्रत्येक दिन करोडौं रुपैयाँ बराबरको कारोबार भई रहेको छ । विराटनगर बजारको तुलनामा जोगबनी बजार केही सस्तो छ ।
जसका कारण निम्न र मध्यम वर्गका व्यक्ति किनमेलका लागि जोगबनी पुग्ने गरेका छन् । सर्वसाधारण विराटनगरमा किनमेल नगरी जोगबनी जाने परम्परा रहेकोले विराटनगरको बजार दिन दिनै धारासाही हुँदैछ । र व्यवसायी पसल बन्द गर्ने क्रम बढ्दो छ ।