- ब्रह्मदेव यादव, विराटनगर १८२४ पटक हेरिएको
बिहिबार, बैशाख ०६, २०८१ समय : १४:२१:४० , ७ महिना अगाडि
विराटनगरमा विहीबार १५ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । माहेश्वरी महिला मञ्च विराटनगरले ३० देखि ३५ लाख रुपैयाँ खर्च गरेर विपन्न समुदायका १५ जोडीको सामूहिक विवाह सम्पन्न गराई दिएको हो । माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष पुनम राठीले सामूहिक विवाहमा खर्च भएको सम्पूर्ण रकम दाताको सहयोगमा जुटाइएको जानकारी गराइन । नवविवाहित प्रत्येक जोडीलाई १ थान सुनको तिलहरीदेखि शरीरको विभिन्न भागमा लगाउने सुन र चाँदीका गहना, दराज, ओछ्याउने ओढ्ने र लगाउने सम्मको लत्ताकपडा उपहार प्रदान गरिएको थियो ।
विराटनगर महानगरपालिकाका उपमेयर शिल्ला निराला कार्कीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सामूहिक विवाह समारोहमा माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उपाध्यक्ष रमेश राठी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उद्योगी महेश जाजु, चम्पालाल राठी, समाजसेवी भिखमचन्द सरल, बेनिगोपाल मुन्दडा सहित उद्योगी व्यवसायी र समाजका विशिष्ट व्यक्तिहरूको सामूहिक विवाह समारोहमा सहभागिता रहेको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, राष्ट्रिय अनुसन्धान विभाग मोरङका एसपी तिलक प्रसाईं, जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, सामूहिक विवाह समारोहमा सहभागिता जनाएका थिए । मारवाडी समुदायबाट सामाजिक क्षेत्रमा सक्रिय रचना राठी, गिरीजा सारडा, सितल बाहेती, जयश्री जाजुले सामूहिक विवाह समारोहमा सहभागिता जनाएका थिए ।
माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष पुनम राठीले समाजसेवी अर्चना तापडियालाई संयोजक बनाएर सामूहिक विवाह समारोहको आयोजना गरेका थिए । र संयोजक तापडियाले पाएको जिम्मेवारीलाई कर्तव्य निष्ठाका साथ पुरा गरेकोले समाजका हरेक क्षेत्र, तह र तप्काका व्यक्तिहरूले स्वागत गरेका छन् । मञ्चका अध्यक्ष पुनम राठी, उद्योगी एवं समाजसेवी चम्पालाल राठीका बुहारी तथा उद्योगी रमेश राठीका श्रीमती हुन् ।
राठीले मञ्चको अध्यक्ष पदको जिम्मेवारी सम्हालेपछि डेढ वर्षको अवधिमा समाज परिवर्तनका लागि हरेक क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेका छन् । अध्यक्ष राठीको पहलमा मञ्चले पहिलो पटक सामूहिक विवाहको आयोजना गरेका थिए । र जसको चौतर्फी प्रशंसा भई रहेका छन् । उद्योगी महेश जाजुले अति विपन्न वर्गलाई लक्षित गरेर माहेश्वरी महिला मञ्च विराटनगरले आयोजना गरेको सामूहिक विवाह कार्य प्रशंसनीय योग्य रहेको बताए ।
उद्योगी रमेश राठीले विराटनगरको सामाजिक क्षेत्रमा काम गरी रहेका हरेक संघ संस्थाले प्रत्येक वर्ष यस्ता प्रकारको सामूहिक विवाहको आयोजना गर्नुपर्ने बताए । विराटनगरको श्री विराटेश्वर शिव मन्दिरबाट निस्केको बेहुला बेहुलीको संयुक्त जन्ती टोली विवाह स्थल अतिथि सदन पुगेका थिए । जन्ती टोलीलाई विराटनगरका उद्योगी व्यवसायी र संघ संस्थाहरुले बाटोमा चिसो पेयपदार्थ खुवाउँदै भव्य स्वागत गरेका थिए । जहाँ सामूहिक विवाह सम्पन्न भएको थियो ।
नवविवाहीत सबै जोडी मोरङका रहेका छन् । सन्थाल समूदायका १३, मण्डल समूदायका १ र राजवंशी समूदायका १ गरी जम्मा १५ जोडीको बेग्लाबेग्लै मण्डपमा जातीय रिती र परम्परा अनुसार विवाह सम्पन्न भएको थियो ।