- ब्रह्मदेव यादव, विराटनगर ४९० पटक हेरिएको
आइतबार, चैत्र २५, २०८० समय : १४:२०:११ , ८ महिना अगाडि
माहेश्वरी महिला मञ्च विराटनगरले विपन्न ऋषिदेव समुदायका ११ जना महिलालाई आइतबार सिलाई मेसिन हस्तान्तरण गरेका छन् । एक निजी बैंकको सहयोगमा ९ थान र डा. सुशिल तापडिया र उनका श्रीमती अर्चना तापडियाको सहयोगमा २ थान गरी ११ थान सिलाई मेसिन महिला मञ्चले विपन्न ऋषिदेव समुदायका ३ महिना तालिम प्राप्त महिलालाई हस्तान्तरण गरेको हो । विपन्न ऋषिदेव समुदायका महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम दिएर सिलाई मेसिन हस्तान्तरण गरिएको माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष पुनम राठीले बताइन ।
एक निजी बैंकले उपलब्ध गराएको ९ थान सिलाई मेसिन बैंकका कर्मचारीहरूले विपन्न महिलालाई हस्तान्तरण गरेका थिए । विराट नर्सिङ होमका सञ्चालक डा. सुशिल तापडिया र उनका श्रीमती रोटरीयन एवं सामाजिक अभियन्ता अर्चना तापडियाले आमा–सासुआमा सर्जुदेवी तापडियाको स्मृतिमा सामाजिक संस्था ए.बी.सी. नेपाल कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख विष्णु शर्मालाई सिलाई मेसिन हस्तान्तरण गरेका थिए ।
ए.बी.सी. नेपाल कोशी प्रदेशका अध्यक्ष शर्माले ए.बी.सी. नेपालमा आश्रित महिलालाई दक्ष बनाउने गरी सिलाई मेसिनबाट तालिम उपलब्ध गराउने बताए । माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा, विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की, अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनका उपाध्यक्ष गिरीजा सारडा, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अनिता पेडिवाल, माहेश्वरी युवा मञ्च विराटनगरका अध्यक्ष अजय राठी, माहेश्वरी समाजका अग्रज चम्पालाल राठी, बजरंग बाहेती कार्यक्रममा सहभागि थिए ।