४५ दिन भित्र मोरङ उद्योग व्यापार संघको निर्वाचन

  • चिरफार डटकम, विराटनगर १२३०४  पटक हेरिएको

शुक्रबार, चैत्र २३, २०८० समय : १७:४९:२० , ८ महिना अगाडि

बढिमा ४५ दिन भित्र मोरङ उद्योग व्यापार संघको निर्वाचन गर्ने समय सीमाको टुंगो लागेको छ । विहीबार विराटनगरमा सम्पन्न संघको ६७औं वार्षिक साधारण सभाले ४५ दिन भित्र कार्यसमिति गठनका लागि कार्यकारिणी सदस्यको निर्वाचन गर्ने समय सीमाको टुंगो लागेको हो ।

संघका अध्यक्ष नविन रिजालको टिमले ६० दिन भित्र निर्वाचन गर्ने समय सिमा माग गरेका थिए । नयाँ वर्ष २०८१ का कारण संघका पदाधिकारी व्यस्त रहने भएकोले २ महिना अर्थात ६० दिन भित्र चुनाव गराउने माग गरेको समय सीमालाई साधारण सभाले अस्वीकार गरेका थिए ।

साधारण सभाले ६० दिन बढि समय भएकोले ४५ दिन भित्र निर्वाचन गर्ने गरी समय तालिकालाई अनुमोदन गरेको हो । मोरङ उद्योग व्यापार संघमा सुरुमा १६ जना कार्यकारिणी सदस्यका लागि निर्वाचन हुन्छ ।

कार्यकारिणी सदस्यबाट बहुमतको आधारमा अध्यक्ष चयन हुने संघको विधानले व्यवस्था गरेको छ । नवनिर्वाचित अध्यक्ष वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ ।