“मास्टर प्लानको आधारमा महेन्द्र मोरङ कलेजको रुप परिवर्तन गरौं” 

  • ब्रह्ममदेव यादव, विराटनगर १८७६  पटक हेरिएको

शुक्रबार, चैत्र १६, २०८० समय : १७:३४:५० , ८ महिना अगाडि

६८ वर्ष इतिहास बोकेको विराटनगरको महेन्द्र मोरङ कलेजको रुप परिवर्तन गर्न मास्टर प्लानको आवश्यकता रहेको सरोकारवाला निकायले सुझाव दिएका छन् । नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संगठनले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायको तर्फबाट यस्तो सुझाव आएको हो ।

कार्यक्रमको शुभारम्भमा सहभागीहरूलाई स्वागत गर्दै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संगठनका अध्यक्ष तथा निजी क्षेत्र नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरेले २०१२ सालमा स्थापना भएको कलेज २०८० सालसम्म आइपुग्दा जस्ताको तस्तै रहेकोले कलेजको रुप परिवर्तन गर्न पूर्व विद्यार्थी संगठन अगाडि बढेकोले सबै क्षेत्र, तह र तप्काको सहयोगको आवश्यकता रहेको बताए । विराटनगरको महेन्द्र मोरङ कलेजमा अध्ययन गरेका विद्यार्थी विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति र माधवकुमार नेपाल प्रधानमन्त्री भई सकेका छन् ।

कलेजमै अध्ययन गरेका विद्यार्थी विजयकुमार गच्छदार र रघुविर महाशेठ उपप्रधानमन्त्री, केदार कार्की कोशी प्रदेशका मुख्यमन्त्री, हिक्मतकुमार कार्की कोशी प्रदेशका पूर्व मुख्यमन्त्री, महेश आचार्य र डा. मिनेन्द्र रिजाल संघीय सरकारमा मन्त्री, रामकुमार खत्री कोशी प्रदेश सरकारमा उद्योग, कृषि तथा सहकारी मन्त्री, भीम पराजुली कोशी प्रदेश सांसद एवं विराटनगर महानगरपालिकाका पूर्व मेयर भई सकेका छन् । यस बाहेक सरकारका ७ जना सचिव भई सकेका व्यक्ति महेन्द्र मोरङ कलेजबाट अध्ययन गरेका विद्यार्थी हुन् ।

उद्योगी महेश जाजु, नन्दकिशोर राठी पनि महेन्द्र मोरङ कलेजमा अध्ययन गरेका विद्यार्थी हुन् । २०१२ सालमा स्थापना भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पछिल्लो समय स्नातक र स्नाकोत्तर तहको ३१ वटा कार्यक्रम सञ्चालन भई रहेका छन् । व्यवस्थापन संकाय तर्फका निर्देशक, प्राध्यापक मोहन सुवेदीले व्यवस्थापन संकाय, मानविकी संकाय, विज्ञान संकाय र शिक्षा संकाय गरी ४ वटा संकाय तर्फ ३१ वटा कार्यक्रम महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययन अध्यापन भई रहेको बताए । कार्यक्रममा सहभागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राम अवतार शरणले ६८ वर्ष पुरानो इतिहास बोकेको कलेजमा भौतिक संरचनाको अभाव रहेको बताए । भौतिक संरचना अभावको कारण विद्यार्थीहरूलाई पठनपाठन गराउन ठाउँको अभाव रहेको क्याम्पस प्रमुख शरणले बताए ।

कार्यक्रममा पूर्व विद्यार्थी संगठनका अध्यक्ष भीम घिमिरे, बरिष्ठ उपाध्यक्ष कृष्ण कार्की, उपाध्यक्ष अरुण न्यौपाने, सचिव प्रविण जोशी र सन्जुकुमारी साहको सहभागिता रहेको थियो । पूर्व विद्यार्थी संगठनका सदस्य एवं न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेलले महेन्द्र मोरङ कलेजको संरचना जीर्ण रहेकोले अविलम्ब नयाँ संरचना निर्माणको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा, उपाध्यक्ष नवलकिशोर काबरा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, बरिष्ठ उपाध्यक्ष अनुपम राठी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुभाष आचार्य लगायत उद्योगी, व्यवसायी, प्राध्यापक, राजनैतिक दालका नेताहरूको सहभागिता रहेको थिए । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका पूर्व स्वतन्त्र विद्यार्थी युनियनका सभापति गुरुराज घिमिरे, ऋषिकेश पोखरेल, सागर थापा र वर्तमान सभापति जसवन्त पौडेल कार्यक्रममा सहभागि थिए ।