- चिरफार डटकम, विराटनगर ४०८ पटक हेरिएको
बिहिबार, चैत्र ०१, २०८० समय : १६:५९:२५ , ९ महिना अगाडि
नेपाल उद्योग परिसंघ कोशी प्रदेशको महिला उद्यम समितिले चैत्र २३ र २४ गते विराटनगरमा महिला एक्स्पोको आयोजना गर्दैछ । सि.एन.आई. कोशी प्रदेश महिला उद्यम समितिले बिहीबार पत्रकार सम्मेलन गरेर चैत्र २३ र २४ गते विराटनगरको अतिथि सदनमा महिला एक्स्पो २०८० को आयोजना गर्न लागेको जानकारी गराए । महिला उद्यम समितिका संयोजक रचना राठीले महिला एक्स्पोमा कोशी प्रदेश भरिका ६० भन्दा बढि औद्योगिक उत्पादनको स्टल रहने जानकारी गराए ।
कोशी प्रदेशको १४ वटै जिल्लाका महिलाहरूले उत्पादन गरी रहेको औद्योगिक उत्पादनको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि महिला एक्स्पोको आयोजना गर्न लागेको संयोजक राठीले बताए । घरेलु एवं औद्योगिक बस्तुहरू प्रदर्शन गर्ने, वस्तु तथा सेवाको प्रवर्द्धन गर्ने, महिला रोजगारीका र महिला उद्यमशीलताका क्षेत्रहरू बारेमा जाग्रित गराउने, महिला उद्यमीहरूबाट उत्पादित बस्तु तथा सेवाको बजार व्यवस्थापन गर्न र उपभोक्ताका माझमा नयाँ स्वदेशी प्रविधि र वस्तुको पहिचान गराउन महिला एक्स्पो कोसेढुंगा सावित हुने संयोजक राठीले बताए ।
एक्स्पो सम्पन्न गर्न ३ देखि ४ लाख रुपैयाँ खर्च हुने र २ दिने एक्स्पोको अवधिमा २० देखि २५ लाख भन्दा बढि रुपैयाँको कारोबार हुने संयोजक राठीले बताए । नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवन सारडा, बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उपाध्यक्ष दिपक पौडेल, सुशिल जोशी, कोषाध्यक्ष साकेत राठी, महानिर्देशक विजयहरी शर्मा सहित महिला उद्यम समितिका पदाधिकारीहरू पत्रकार सम्मेलनमा सहभागि थिए ।