वैदेशिक रोजगारमा गएपछि मोरङमा १ सय ७८ पुरुष, ३२ महिलाले गरे दोस्रो विवाह

  • ब्रह्मदेव यादव, विराटनगर ४०६  पटक हेरिएको

बुधबार, फाल्गुण ३०, २०८० समय : १६:४५:१६ , ९ महिना अगाडि

श्रीमान्–श्रीमती वैदेशिक रोजगारमा गएपछि मोरङका १ सय ७८ जना पुरुष र ३२ जना महिलाले दोस्रो विवाह गरेका छन् । सुरक्षित आप्रवासन (सामी) ले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा कार्यक्रम अधिकृत डि.एन. चौधरीले वैदेशिक रोजगारीमा श्रीमती गएपछि १ सय ७८ जना पुरुष र श्रीमान्  रोजगारीमा गएपछि ३२ जना महिलाले दोस्रो विवाह गरेको बताए । करिब २० महिनाको अवधिमा विदेशमा रहेका १ हजार ७ सय ८५ जना पुरुषका श्रीमती मध्ये ३२ जना महिलाले दोस्रो विवाह गरेका छन् ।

त्यसै गरी विदेशमा रहेका १ हजार ५ सय ४४ जना महिलाका श्रीमान् मध्ये १ सय ७८ जना पुरुषले दोस्रो विवाह गरेका छन् । गत वर्ष २०७९/०८० मा मोरङबाट १३ र आर्थिक वर्ष २०८०/०८१ को माघ महिनासम्म १५.११ प्रतिशतले महिला वैदेशिक रोजगारीमा गएको चौधरीले बताए । महिला रोजगारीका लागि विदेशिने क्रम बढ्दो रहेको चौधरीको भनाई छ । मोरङमा १ हजार ४ सय ७७ घर धुरिबाट १३ हजार ८ सय १३ जना महिला र पुरुष वैदेशिक रोजगारीमा गएको चौधरीले बताए ।

सुरक्षित आप्रवासन (सामी) का कार्यक्रमका अध्यक्ष केशर बस्नेतले रोजगारीको अभावमा घर जग्गा बिक्री गरेर मोरङबाट विदेश जानेको संख्या बढि रहेकोले राज्यको ध्यान जान जरुरी रहेको बताए । मोरङबाट विदेश गएकाहरूले बिचमा नेपाल फर्केर घर जग्गा बिक्री गर्दै पुनः विदेशमै गएर घर जग्गा खरीद गरेर बसोवास गर्ने क्रम बढि रहेको बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक पौडलले देशमै रोजगारी उपलब्ध गराउने गरी विराटनगर महानगरपालिकाले सिम मूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव एवं वैदेशिक रोजगार विज्ञ नेत्र पि अधिकारीले वैदेशिक रोजगारीको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सुरक्षित आप्रवासन (सामी) ले मोरङको विराटनगर महानगरपालिका उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिका गरी ४ स्थानीय तहमा वैदेशिक रोजगारमा गएका घरधुरीदेखि परिवारको संख्याको बारेमा जानकारी संकलन गर्ने गरेका छन् ।