चैत १५ गतेदेखि विराट गोल्डकप फुटबल प्रतियोगिता

  • ब्रह्मदेव यादव, विराटनगर ८१९  पटक हेरिएको

सोमबार, फाल्गुण २८, २०८० समय : १३:४३:१० , ८ महिना अगाडि

विराट गोल्डकप फुटबल ट्रष्टले २०८० साल चैत्र १५ गतेदेखि विराटनगरमा ८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने तयारीलाई तीब्र पारेका छन् । अघिल्लो वर्ष विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई आयोजक समितिको संयोजक बनाएर विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना भएको थियो । यस वर्ष विराट गोल्डकप फुटबल ट्रष्टका पदाधिकारीले आफै विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गर्दै अगाडि बढेका छन् । विराटनगरको सहिद रंगशालामा चैत्र १५ गतेदेखि २४ गतेसम्म दिवा र रात्री कालिन समयमा फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको छ ।

फर्डलाइट जडान गरिएको सहिद रंगशालाको घाँसे मैदानमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगितामा नेपाल, भारत र भुटान गरी ३ देशका १० टोलीको सहभागिता रहने छ । जसमा नेपालको विभागिय टोली नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीको सहभागिता रहने छ । यस वर्ष विराट गोल्डकप फुटबल प्रतियोगिताको सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण नदेखाउने निर्णय भएको विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी गराएका छन् । अघिल्लो वर्ष विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आयोजना गरेको फुटबल प्रतियोगिताको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण देखाइएको थियो ।

फुटबल प्रतियोगिताको सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण देखाउँदा फुटबलका पारखीहरू मैदानसम्म आइनपुग्ने भएकोले उनीहरूलाई मैदानसम्म ल्याउन प्रत्यक्ष प्रसारण नदेखाउने निर्णय भएको ट्रष्टका अध्यक्ष शाहीले बताए । फुटबल प्रतियोगिताका विजेता टोलीले नगद ११ लाख सहित ट्रफी र उपविजेता टोलीले नगद ५ लाख ५१ हजार सहित ट्रफी प्राप्त गर्ने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार वितरण गरिने छ । अघिल्लो वर्ष विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आयोजना गरेको फुटबल प्रतियोगिताको विजेता टोलीले नगद १५ लाख सहित ट्रफी प्राप्त गरेका थिए । तर यस वर्ष पुरस्कारको राशि रकम घटाइएको छ ।

पुरस्कारको राशि रकम घटाइए पनि खेलाडीको सुविधामा आयोजकले वृद्धि गरेका छन् । कोशी प्रदेशमा आयोजना हुने फुटबल प्रतियोगितामा आयोजकले खेलाडीलाई प्रत्येक दिन १ हजारदेखि १ हजार ५ सय रुपैयाँ भक्ता पाउने गरेका छन् । तर विराट गोल्डकप आयोजक समितिले प्रत्येक दिन खेलाडीलाई २ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने निर्णय भएको ट्रष्टका कोषाध्यक्ष अनुज बानियाले बताए । यस वर्ष विराट गोल्डकप ट्रष्ट फुटबल प्रतियोगिता आयोजक समितिले खेलाडीको बस्ने, खाने सहित सुविधा खर्चमा ५० लाख भन्दा बढि रकम खर्च गर्दैछ । प्रतियोगिता सम्पन्न गर्न १ करोड २५ लाख भन्दा बढि रकम खर्च हुने ट्रष्टका अध्यक्ष शाहीले बताए ।

प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की र सामाजिक विकाश मन्त्री राजेन्द्र कार्कीले २५ लाख रुपैयाँ सहयोग गर्ने बाचा गरेका छन् । विराटनगर महानगरपालिकाले १२ लाख, राष्ट्रिय खेलकुद परिषदले ५ लाख, उद्योगी, व्यवसायी र बैंक तथा वित्तिय संस्था सहित प्रतियोगिताका प्रायोजकबाट आवश्यक रकम जुटाइने आयोजक समितिले तयारी गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । विराट गोल्डकप फुटबल प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, महासचिव बिनेश बस्नेत, कोषाध्यक्ष अनुज बानिया, सहकोषाध्यक्ष बिमलराज भण्डारी सहित ट्रष्टका पदाधिकारीहरू जोडतोडका साथ काम गरिरहेको छन् ।