सामान रोकेर बेरुजु रकम असुली गर्दै विराटनगर भन्सार कार्यालय

  • ब्रह्मदेव यादव, विराटनगर ८३२  पटक हेरिएको

शुक्रबार, माघ १९, २०८० समय : १७:४४:३९ , १० महिना अगाडि

उद्योगी व्यवसायीहरूले आयात निर्यात गर्न लागेको सामान रोकेर विराटनगर भन्सार कार्यालयले बेरुजु रकम असुली गरी रहेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले २०८० पुस महिनामा मात्रै उद्योगी व्यवसायीको सामान रोकेर बेरुजु बापत १ करोड १५ लाख रुपैयाँ असुली गरेको बताए । उनले ६ महिना अगाडिदेखि बेरुजु वापतको रकम असुली गर्ने क्रम जारी रहेको र प्रत्येक महिना १ करोड भन्दा बढि बेरुजु रकम असुली भई रहेको बताए ।

उद्योगी व्यवसायीले १० वर्ष अगाडि २० प्रतिशत मूल्याङ्कन कायम गराएर छुटाएको सामानको अहिलेको बजार मूल्यको आधारमा पुनः मूल्याङ्कन ३० देखि ४० प्रतिशतसम्म वृद्धि गरेको छ । र ती रकमलाई बाँकी बक्यौता अर्थात बेरुजु ठहर गरेर आयात निर्यातको मालबाहक गाडी रोक्दै रकम असुली गर्ने काम भइरहेको छ ।

विराटनगर भन्सार कार्यालयले भन्सार विभागबाट उद्योगी व्यवसायी र भन्सार एजेन्टहरूले पाएको एक्जिम कोर्ड नम्बर (आयात निर्यात संकेत नम्बर) लक गरेर बेरुजु रकम असुली गरी रहेका छन् । आयात निर्यातको सामान विराटनगर भन्सार कार्यालय परिसरमा प्रवेश गरी सकेपछि प्रमुख भन्सार अधिकृत ढकालले एक्जिम कोर्ड नम्बर लक गर्दै उद्योगी व्यवसायीलाई बाँकी बक्यौता रकम बुझाउन दवाव सृजना गरी रहेका छन् ।

जबसम्म उद्योगी व्यवसायीले बाँकी बक्यौता रकम बुझाउँदैन तब सम्म उसको एक्जिम कोर्ड नम्बर खुल्दैन । उद्योगी व्यवसायीले आयात निर्यात गर्न लागेको सामान छुटाउन पनि बाध्य भएर बाँकी बक्यौता रकम तिरी रहेका छन् ।