राष्ट्रिय सभा निर्वाचनः कोशी प्रदेशबाट २ पदका लागि ४ जना उम्मेदवार

  • चिरफार डटकम, विराटनगर ४३४  पटक हेरिएको

बुधबार, माघ १०, २०८० समय : १७:०२:१६ , १० महिना अगाडि

बिहीबार हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट २ पदका लागि ४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । राष्ट्रिय सभामा कोशी प्रदेशबाट २ सदस्यको पद रित्त हुन लागेको छ । जुन पद परिपूर्तिका लागि बिहीबार कोशी प्रदेशको राजधानी विराटनगरमा चुनाव हुन लागेको हो ।

सत्तागठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट झापाका कृष्ण सिटौला र नेकपा माओवादी केन्द्रको तर्फबाट ओखलढुङ्गाकी चम्पादेवी कार्की चुनावी मैदानमा रहेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट सुनसरीकी रुक्मिणी कोइराला र राप्रपाको तर्फबाट मोरङका उद्धव पौडेल गठबन्धनका उम्मेदवार टक्कर दिने गरी चुनावी मैदानमा उत्रिएका छन् ।

कोशी प्रदेशमा राप्रपा सत्तागठबन्धन दलका साझेदार हुन् । र केही दिन अगाडि सत्तागठबन्धनकै बलमा राप्रपाका अमरबहादुर विष्ट कोशी प्रदेशको सभामुख पदमा निर्वाचित भएका थिए । तर राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट सत्तागठबन्धनले राप्रपालाई १ सिट नदिएपछि राप्रपाले एमालेसँग गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

राष्ट्रिय सभा निर्वाचन तर्फ कोशी प्रदेशमा एमाले राप्रपाको गठबन्धन भन्दा सत्तागठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको ८ सय भन्दा बढि मतभार रहेका छन् । र उनले सहजै बिजयी प्राप्त गर्ने आकलन गरिएको छ । राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले बुधबार विराटनगर स्थित कोइराला निवासमा चियापान कार्यक्रम आयोजना गरेका थिए ।

चियापान कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, नेता डा. मिनेन्द्र रिजाल सहित गठबन्ध दलका नेताहरूको सहभागिता रहेको थियो । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशका सांसद स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था छ ।