विराटनगरको पारस अस्पतालमा छोरी जन्माउनेलाई १ हजार रुपैयाँ प्रोत्साह भत्ता

  • ब्रह्मदेव यादव, विराटनगर ५५४  पटक हेरिएको

बिहिबार, माघ ०४, २०८० समय : १३:४९:४९ , १० महिना अगाडि

विराटनगरको पारस मल्टीस्पिसियालिटी अस्पतालले छोरी जन्माउने महिलालाई १ हजार रुपैयाँ प्रोत्साह भत्ता दिने घोषणा गरेका छन् । प्रोत्साह भत्ता बापत प्राप्त १ हजार रुपैयाँ फिर्ता गरेको खण्डमा जन्मिएको बच्चालाई १ वर्षसम्म स्त्री तथा प्रसुती रोग विशेषज्ञ मार्फत निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरी दिने अस्पतालले थप अर्को घोषणा गरेका छन् ।

पारस अस्पतालका अध्यक्ष बरिष्ठ जेनरल एवं ल्याप्रोस्कोपी सर्जन डा. सफिउर रहमानले बिहीबार पत्रकार सम्मेलन गरेर आगामी १ वर्षसम्म अस्पतालले छोरी बचाउ अभियान अन्तर्गत “छोरी बचाउ आमा बचाउ” कार्यक्रम लागू गरेको जानकारी गराए । बिहीबारदेखि नै पारस अस्पतालमा यो कार्यक्रम लागू भएको छ । पत्रकार सम्मेलनमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. कविता यादवको उपस्थिति रहेको थियो ।

अस्पतालका अध्यक्ष डा. रहमानले शल्यक्रिया मार्फत पनि छोरी जन्माउने महिलालाई कुनै किसिमको उपचार खर्च नलाग्ने घोषणा गरेका छन् । तर शल्यक्रिया मार्फत छोरा जन्माउने महिलाले अस्पतालले तोके बमोजिमको शुल्क लाग्ने बताए । छोरा जन्माउने सँग शुल्क लिएर छोरी जन्माउनेलाई निःशुल्क उपचार गर्न लागेको डा. रहमानले बताए ।

विराटनगरको महेन्द्र चोक नजिक पारस अस्पताल सञ्चालन भई रहेको छ । म्याक्स ट्रमा सेन्टरको सम्पूर्ण शेयर खरिद गरेर डा. रहमानले पारस अस्पताल सञ्चालनमा ल्याएको हो । ५० बेडको पारस अस्पतालमा १७ बेडको स्त्री तथा प्रसुती रोग विभाग रहेका छन् । डा. रहमानले चाँडैनै ५० बेडलाई बढाएर १ सय बेडको अस्पताल सञ्चालनमा ल्याउन लागेको जानकारी गराए ।

नेपाल सरकारले सरकारी र गैर सरकारी अस्पताल मार्फत आमा सुरक्षा कार्यक्रम सञ्चालन गरी रहेका छन् । तर विराटनगरको निजी क्षेत्रबाट सञ्चालित पारस अस्पताल स्वास्थ्य संस्थाले १ वर्षसम्म निःशुल्क रुपमा “छोरी बचाउ आमा बचाउ” कार्यक्रम सञ्चालनमा ल्याएको छ । पारस अस्पतालमा जेनरल एवं ल्याप्रोस्कोपी, स्त्री तथा प्रसुती रोग विभाग, हार्ड जोर्नी तथा नशा रोग विभाग र फिजिसियन विभाग मार्फत बिरामीलाई उपचार सेवा प्रदान गरी रहेका छन् ।